भारतमा लोकसभा निर्वाचन: वाराणसीमा नरेन्द्र मोदी र गान्धीनगरमा अमित शाहको विशाल अग्रता

news
भारतमा लोकसभा निर्वाचनमा मतगणना धमाधम भइरहेको छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ ।
मतगणनाको प्रारम्भिक परिणाममा भारतीय जनता पार्टीसहितको गठबन्धनले ३२५ भन्दा बढी सिटमा अग्रता लिएको छ । भारतीय जनता पार्टी एक्लैले आवश्यक बहुमत हासिल गर्ने संकेत प्रारम्भिक नतिजाले गरेको छ । भारतीय जनता पार्टी एक्लैले २८५ सिटमा अग्रता लिइरहेको छ ।
भारतीय जनता पार्टीका चर्चित अनुहार प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो चुनाव क्षेत्रमा करिब ६९ हजार मतले अग्रता बनाएका छन् । वाराणसी क्षेत्रबाट उम्मेदवारी दिएका उनले ६९ हजार मतभन्दा बढीले अग्रता लिइसकेको बताइएको छ ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह एक लाख १५ हजार मतले अगाडी छन् । उनी गान्धीनगर क्षेत्रबाट चुनावी मैदानमा छन् ।
उत्तर प्रदेशको अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले कडा टक्कर दिएकी छन् । मतगणना सुरु हुनासाथ दुवै उम्मेदवारबीच झिनो मतान्तरले अघि–पछि हुने क्रम जारी छ । केही अघिसम्म राहुल गान्धीले अग्रता लिएको सो क्षेत्रमा पछिल्लो समय स्मृति इरानीले एक हजार मतले अग्रता बनाएकी छन् । (एजेन्सी)