बैतडीमा आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु

news
बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ बर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए ।
राती खाना खाएर टहरामा सुतेका उनीहरुको चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राती करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ ।
मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ ।  इमेजखबरमा समाचार छ ।