सप्तरीको खाँडो नदी नियन्त्रणको प्रयास सुरु भएको तीन वर्ष वितिसक्दा पनि प्रभावकारी रुपमा काम अघि नबढेपछि स्थानीय चिन्तित भएका छन् ।
नदीले ठूलो जनधनको क्षति गरेपछि नदी नियन्त्रणका लागि तीन वर्षअघिदेखि नै प्रयास गरिएको हो ।
तर अहिलेसम्म त्यो प्रयासले सार्थकता लिन नसक्दा सप्तरीको दक्षिणी भेगका आधा दर्जनभन्दा बढी बस्तीका वासिन्दामा त्रास कायमै छ ।
आर्थिक वर्ष २०७२/७३ मा डीपीआर तयार गरी सुरु गरिएको नदी नियन्त्रणको काममा ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर काम भने २० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
नदीको बाढीले बर्सेनि जनधनको क्षति पु¥याउँदै आएको छ । तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, तोपा, लौनियाँलगायत बस्तीका वासिन्दाले कर्मचारीमा हावी रहेको कमिसन तन्त्र, उपभोक्ता तथा ठेकेदारको लापरवाहीले नदी नियन्त्रण कार्य प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।
नदीको दुवैतर्फ तटबन्ध निर्माण गर्न आर्थिक वर्ष २०७२/७३ मा ४ करोड, २०७३/७४ मा साढे १६ करोड र २०७४/७५ मा साढे २२ करोड रुपैयाँ तथा चालू आर्थिक वर्षको हालसम्म ६ करोड रुपैयाँ भन्दा बढी खर्च भएको खाँडो नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
डीपीआर अनुसार खाँडो नदीको दुवैतर्फ २५/२५ किलोमिटर गरी कुल ५० किलोमिटरको तटबन्ध निर्माण गर्नुपर्छ ।
यो काम आर्थिक वर्ष २०७८/७९ सम्म सम्पन्न गरिसक्ने तयारी छ ।
तर, समयमै रकम निकासा नहुँदा तथा स्थानीयहरुको अवरोधका कारण निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख विष्णुदेव यादवको भनाइ छ । इमेजखबरमा समाचार छ ।