त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको नक्कली भारु बरामद, ६ जना पक्राउ

news
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारु बरामद भएको छ ।
विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको टोलीले ७ करोेड ६७ लाखभन्दा बढी भारुसहित तीनजना पाकिस्तानी र तीनजना नेपालीलाई नियन्त्रणमा लिएको हो ।
पटक–पटक मुद्रा अपचलनमा जेल पुगेका नेपाली नागरिक युनुस अन्सारीसहित ६ जनालाई प्रहरीले निगरानीकाक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
कतार एअरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका तीनजना पाकिस्तानी नागरिकहरु नसिर उद्दिन, अख्तर मोहम्मद र अन्बर नादियाले बोकेका दुईओटा सुटकेसमा दुई हजार दरका ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोट फेलापरेको हो ।
पाकिस्तानीहरुलाई लिन आफ्नो साला सोहेल खान र ड्राइभर सुजन रानाभाटसहित विमानस्थल पुगेका युनुस अन्सारी पनि विमानस्थलबाटै पक्राउ परेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिँदा अन्सारीको अनुहारमा कुनै ग्लानीभाव देखिएको थिएन ।
अन्सारी प्रफुल्ल मुद्रामा देखिएपनि पक्राउ परेका तीन पाकिस्तानीहरुले भने आफूहरुले कुनै गल्ती नगरेको भन्दै विवाद गर्न खोजेका थिए ।
विमानस्थलबाट नक्कली भारुसहित पक्राउ परेकाहरुलाई प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको हो ।
पत्रकार सम्मेलनमा डीआइजी शैलेशकुमार थापाले नियन्त्रणमा लिएकाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताए ।
पूर्वमन्त्री सलिममियाँ अन्सारीका छोरा युनुस अन्सारी यसअघि पनि नक्कली भारु कारोबारमा र लागुऔषध मुद्दामा पक्राउ परी जेल बसिसकेका व्यक्ति हुन् । उनीमाथि जेलभित्र गोली प्रहारसमेत भएको थियो । इमेजखबरमा समाचार छ ।