एकल महिलालाई परिवर्तनका लागि अग्रसर गराउनु आवश्यक रहेको राष्ट्रपतिको भनाई

news
 राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने बताएकी छन् ।
मानवअधिकारका लागि एकल महिला समूहको २५औं रजतजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानमा महिला–पुरुषको समान अधिकार स्थापित भएकाले यसको व्यावहारिक कार्यान्वयनमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले एकल महिलाका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्था गरेको बताउँदै उनीहरुलाई आर्थिक एवं सामाजिक परिवर्तनका लागि अग्रसर गराउनु अहिलेको आवश्यकता रहेको औंल्याइन् ।
कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कानुनतः एकल महिलाको अधिकार स्थापित भएपनि सामाजिक, सांस्कृतिक एवं आर्थिक हिसाबले भेदभावको अवस्था कायम रहेकाले यसविरुद्ध सबै जुट्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले एकल महिलाको सुविधाका लागि निर्माण गरिएको सुरक्षित सेवागृहको उद्घाटन गरेकी थिइन् ।
रजतजयन्तीका अवसरमा एकल महिलाका फोटो प्रदर्शनी, स्वास्थ्य शिविरलगायत उनीहरुले उत्पादन गरेको विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिएको छ । इमेजखबरमा समाचार छ ।