नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। राजधानी काठमाडौंलगायत देशभरिका शिक्षण संस्था बन्द भएका छन् भने लामो दूरीका सवारी साधन चलेका छैनन्। जेठ ७ गते भोजपुरमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा विप्लव नेकपामा आज बन्द गरेको हो।
सर्वसाधारणमा त्रास फैलाउन उक्त समूहले ठाउँ ठाउँ बम राखेको छ।
पोखराका दुई ठाउँमा बम भेटिएको छ । पोखराको न्युरोड र सृजनाचोक नजिकै शंकास्पद वस्तु भेटिएको हो।
पोखराको सृजनाचोक र फिर्केचोकको विचमा एनसेलको कार्यालय नजिकै कुकर बम भेटिएको र त्यसलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको सेतोपाटी संवाददाता सागरराज तिमिल्सेनाले जनाएका छन्।
आइतबार साँझ नै भेटिएको भए पनि राति डिस्पोज गर्दा स्थानीय सशंकित हुने भन्दै अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएको हो ।
एनसेलको कार्यालय नजिकै रहेको कुकर बमलाई प्रहरीले रातिदेखि नै सुरक्षा दिएर राखेको थियो।
त्यसैगरी पोखराको दरवारथोक मार्गमा रहेको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा झण्डासहित शंकास्पद वस्तु भेटिएको छ।
त्यसै गरी कास्की अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको जानकारी प्रहरीले दिएको छ। स्थानीयले शंकास्पद बस्तु भेटिएको छ भनेर खबर गरेका छन् बम भएको नभएको अनुसन्धान हुदै गरेको बताएका छन्।
बन्दका कारण पोखराबाट छुट्ने लामो तथा छोटो दुरीको सार्वजनिक यातायात संचालन भएका छैनन्। केही मात्रामा निजी सवारी साधन भने सञ्चालनमा आएका छन्। मुख्य बजारका पसलहरु, स्कुल, कलेज, उद्योग बन्द छन्।
विप्लवका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन्। नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन्।
पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो। ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन्। उनको ढाड र अनुहारमा आगोले पोलेको छ। घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै आज बिहान ३३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
यता मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।
बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।
हेटौंडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए।
आगजनीका कारण मानवीय क्षति भने भएको छैन। त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ।
नौ खण्डेमा बास बसेर आज बिहान ४.१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो। इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ।
सुर्खेत संवाददाता दिपकजंग शाहीका अनुसार विप्लव समूहले पूर्वीसुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्। गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए। आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ। (राससको सहयोगमा)