धनुषामा एक अढाई वर्षिय बालकलाई बलि चढाउने झाँक्रीलाई प्रहरीले करिव एक महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने सत्रुधन साहको साढे एक बर्षिय छोरा आर्यन भनिने समिर साह गत वैशाख २३ गते हराएको र उसको शव वैशाख २४ गते स्थानीय झाडीमा फेला परेको थियो ।
बालकको धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी ईकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा धामीझाँक्री सिक्दै गरेका ५५ वर्षीय सत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको हो ।
धामीझाँक्रीमा दखल दिन आफु शक्तिशाली हुने अन्ध विश्वासका कारण बालक आर्यनको बलि दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
हत्यारा झाँक्री महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीन सातापछि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौकाछोपी झाँक्री महतोले बालकलाई ललाईफकाई उसकै घरबाट अपहरण गरेका थिए ।
त्यसै राति झाँक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि हुने अन्ध विश्वासमा आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी चमिनियामाईको नाममा बालकको घाँटी रेटेर बलि दिएका थिए ।
बालक आर्यन विरामी हुँदा समेत झाँक्री महतोले झारफुक गर्ने गरेका थिए । झाँक्रीको घर बालक आर्यनको घरबाट करिब १ सय मिटरको दूरीमा छ ।
बालक आर्यन आमाबुबाको एक्लो छोरा हुन् । बालकको हत्यामा प्रयोग गरिएको घरेलु हतियार र लुगा समेत प्रहरीले बरामद गरेको छ । इमेजखबरमा समाचार छ ।