सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने भएको छ।
आईतबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारसंगै घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
पूर्ण रुपमा घर क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ थप रकम उपलब्ध गराउने निर्णय गरेको छ।
योसंगै पूर्ण रुपमा घर क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए।
यस्तै, बालीनाली, पशुपन्छीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुन बमोजिम मापढण्ड बनाई कार्यान्वय गर्नुपर्ने निर्णय भएको मन्त्री शाहले बताए।
मन्त्री शाहले हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको बताए। उनले क्षतिको विवरण आए लगत्तै राहत रकम उपलब्ध गराइने बताए।
उनका अनुसार अहिलेसम्म कैलालीमा एक हजार एक सय ७४ घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिए।
मन्त्री शाहले कैलालीको धनगढीमा अवरुद्ध विद्युत सेवालाई जति सक्दाे चाडो ल्याउने प्रयास भइरहेको बताए। ‘विद्युत सेवा सुचारु गराउन सुरक्षा निकाय, विद्युतका कर्मचारीहरुले तिव्र रुपमा काम गरिरहेका छन्। केही ठाउमा विद्युत सेवा शुरु भइसकेको छ’, उनले भने।
प्रदेश सरकारले सुदूरपश्चिम मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। प्रदेशमा आउने बाढी, हावाहुरी, पहिरो लगायतबाट प्रभावित भएका पीडितलाई रकम उपलब्ध गराउने उद्देश्यले सो कोष स्थापना गरिने प्रदेश सरकार प्रवक्ता प्रकाश बहादुर शाहले बताए।
उनले सो कोषमा आम सुदूरपश्चिमबासीलाई रकम जम्मा गर्न पनि आग्रह गरे । देशसन्चारमा समाचार छ ।