मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भागनजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपालनजिक रहेकाले आइतबारसम्म मनसुन अतिसक्रिय रहने जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै शनिबार देशभर मनसुनी वर्षा जारी रही देशका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू–भागमा केही स्थानमा र पश्चिमी भू–भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति देशका पूर्व र मध्य क्षेत्रका पहाडी भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
आइतबार देशभर पूर्णबदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रही पूर्वी क्षेत्रका एक/दुई स्थानमा र पश्चिमी पहाडका केही स्थानमा अतिभारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौंमा १८.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पोखरामा २१.९, दाङमा २३.४, धनगढीमा २६.५, नेपालगन्जमा २४.५, वीरेन्द्रनगरमा २४.० र जुम्लामा १५.६ मिलिमिटर वर्षा मापन गरिएको छ । रासस