२०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० ओटाको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।
त्यसमा सरकारको स्रोतका ३० ओटा र ४० ओटा एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगका रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।
सरकारको स्रोतबाट पुनःनिर्माण भइरहेका बाँकी २१ ओटा चालू आर्थिक वर्षभित्र र एडीबीको ऋण सहयोगमा पुनःनिर्माण भइरहेका बाँकी २९ ओटा भवनहरुको पुनःनिर्माण २०७६ साल पुससम्ममा सम्पन्न गरिने पनि प्राधिकरणले जनाएको छ ।
पुनःनिर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको पनि जनाइएको छ ।
साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको र सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेन्डर आह्वान गरिएको पनि प्राधिकरणले जनाएको छ । इमेजखबरमा समाचार छ ।