पोखरामा तीज पर्वलाई प्रशासनले कडाइ गरेकोप्रति आपत्ति

news
तीज पर्वलाई लिएर जिल्ला प्रशासन कार्यालय कास्कीले कडाइ गरेकोप्रति विश्व हिन्दु महासंघ गण्डकी प्रदेशले आपत्ति जनाएको छ । 
महासंघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडक-भडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन सार्वजनिक सूचना जारी गरेकोप्रति विरोध जनाएको हो  । संस्कृतिप्रति राज्य अनुदार भएको भन्दै मुलुकमा अन्य धर्मलाई प्रश्रय मिल्ने गरी हिन्दू धर्मको बर्खिलापमा प्रशासन उत्रिएको आरोप महासंघको छ ।
महासंघ कास्कीका सचिव कमल पौडेलले सरल तरिकाले दिदीबहिनीहरु रमाइलो गर्दा प्रशासनले  गिद्दे नजर लगाएको बताए । महासंघकी अध्यक्ष पार्वता पौडेलले प्रशासनको पत्रले समाजमा त्रास फैलिएको आरोप लगाइन् । प्रशासनले उक्त कदम फिर्ता नलिए अदालतको शरणमा जाने उनको चेतावनी छ ।
यता, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने तीज मनाउन रोकेको नभइ व्यवस्थित गर्न खोजेको प्रतिक्रिया दिए । उनले महिनौदेखि नभइ निश्चित समयमा मात्रै तीज मनाउन आग्रह गरिएको प्रष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय कास्कीले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै तडकभडक रुपमा नभइ सामान्य रुपमा तीज मनाउन आग्रह गरेको थियो । इमेजखबरमा समाचार छ ।