त्रिशुली बस दुर्घटनामा बेपत्ता भएकाहरु अझै भेटिएनन्, खोजी गर्न चार जिल्लालाई आग्रह

news
जिल्ला प्रशासन कार्यालय धादिङले गत शुक्रबार धादिङमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि छिमेकी जिल्लाहरुसँग आग्रह गरेको छ ।
धादिङस्थित पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले छिमेकी चार जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् ।
बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो ।
वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गत शुक्रबार सर्लाहीको  मलंगवाबाट चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ ।
बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशंका प्रहरीको छ । इमेजखबरमा समाचार छ ।