रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालतले  थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । 
शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। 
न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद दिएका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रवीसहित ३ जनालाई अनुसन्धानको लागि म्याद दिइएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।
 
  प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लैजाँदा लामिछानेका समर्थकले नाराबाजी गरेका थिए।
महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछाने र कँडेललाई बिहीबार साँझ न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो। कार्की त्यसअघि नै पक्राउ परेकी थिइन्।
मल्लका अनुसार आत्महत्या दुरुत्साहनमा अनुसन्धान आवश्यक देखिएपछि तीनै जनालाई पक्राउ गरिएको हो।
पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि छोडेको भिडिओमा उनीहरूको नाम लिँदै केही आरोपहरू लगाएका थिए।
मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दामै मुद्दा अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।
पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए।
पुडासैनीले भिडियोमा लामिछानेले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए। तर, सो आरोप लामिछानले अस्वीकार गर्दै आएका छन्।  अन्लाईन संचारमाध्यमबाट