जनकपुरधामका सडक निर्माणमा लापरवाही, धमाधम भत्किन थाल्यो

news
जनकपुरधाम उपमहानगरपालिकामा एकीकृत सहरी विकास आयोजनाअन्र्तगतका निर्माणाधीन सडक गुणस्तरहीन भएको देखिएको छ ।
निर्माण चरणको वर्षदिन पनि नपुग्दै अधिकांश सडक र पेटीहरु भत्किन थालेपछि अनियमितता गरी कामको गुणस्तरमा ध्यान नदिएको पाइएको हो ।
जनकपुरका मिल्स एरिया, मुरलीचोक, क्याम्पस चोक, भ्रमरपुरा चोकलगायतका ठाउँका सडक र पेटी कतै भत्किएका छन् त कतै पिच उप्किएको छ । २०६९ सालमा तत्कालीन जनकपुर नगरपालिका, एडिबी र सहरी डिभिजन कार्यालयबीच सडक निर्माणको त्रिपक्षीय सम्झौता भए पनि विभिन्न बाधा अवरोधका कारण काम हुन सकेको थिएन ।
२०७४ साल वैशाखदेखि निर्माण कार्य सुरु भए पनि निर्माण भइसकेका कतिपय सडकहरु भत्किएर कामै नलाग्ने अवस्थामा पुगेका छन् । ठेकेदारको लापरबाही र आर्थिक अनियमितताका कारण कमसल र गुणस्तरहीन सडक निर्माण भएकाले यति छिटै भत्किन थालेको स्थानीयको आरोप छ ।
सडकको निर्माण ठेक्का लिएको जेडआइइसी शर्मा जेभी र रमण कन्स्ट्रक्सनले एक वर्षमै काम सम्पन्न गर्ने बचन दिए पनि पटक पटक म्याद थप्दासमेत काम सम्पन्न हुन सकेको छैन ।
यता, जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झा निर्माण सम्पन्न भए पनि एक वर्षसम्म मर्मतसम्भार गर्ने सहमति भएको र काम पूरा नभएसम्म भुक्तानी नगरिने बताउँछिन् ।
एडीबीको सहयोगबाहेक पनि जनकपुरमा सघन सहरी विकास कार्यक्रमअन्तर्गत १६.८८ किलोमिटर र एकीकृत सहरी विकास पूर्वाधार परियोजना (आइयुडिपी) परियोजना अन्तर्गत १२.५४ किलोमिटर सडक निर्माण कार्य भइरहेका छन् । 
कामले पूर्णता नपाई कमजोरी छताछुल्ल हुँदासम्म पनि नियामक निकायको मौनताप्रति भने स्थानीय दिक्दार छन् । यदि यस्तो लापरबाहीप्रति पनि कठोर नबन्ने हो भने आगामी दिनमा यो प्रवृत्ति थप विकराल बन्न सक्छ । इमेजखबरमा समाचार छ ।