चुरेको अत्यधिक दोहन र नदी उत्खननको कारण बारामा कृषियोग्य जमिनको क्षय हुँदै

news
 चुरेको अत्यधिक दोहन र नदी उत्खननको कारण बारामा कृषियोग्य जमिनको क्षय हुँदै गइरहेको छ । प्राकृतिक स्रोतको उपयोगमा मनपरी बढेपछि जिल्लाको ठूलो परिमाणमा खेतीयोग्य जमिन बगरमा परिणत भएको हो ।
बाराका पसाह, बगरी, दुधौरा र बालगंगा खोलाले धार परिवर्तन गर्दा कतै खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने कयौँ जमिन कटान भएको छ । राष्ट्रपति चुरे संरक्षण र जल प्रकोप तथा नदी नियन्त्रण कार्यालयले ठोस पहलकदमी नगरी अव्यवस्थित रुपमा पूर्वाधार निर्माण गर्दा यो समस्या झन् जटिल बन्दै गएको हो ।
जिल्लाका अन्य स्थानीय तहले आधिकारिक तथ्यांक नपठाए पनि जितपुर सीमरा उपमहानगरपालिकाको इनरबासिरामा सयौँ बिघाहको धान बाली नष्ट भएको छ । बाढीले खोलाको धार परिवर्तन गरी खेतीयोग्य जमिन स्वाहा पार्नुका साथै ग्रामीण सडक सञ्जालसमेत अस्तव्यस्त बनाएको छ ।
वर्षदिनसम्म हातमुख जोर्ने सहारा रहेको बालीमा बालुवा थुप्रेपछि कयौँ परिवार बिचल्लीमा परेको स्थानीय सेदुला अन्सारीको गुनासो छ । 
धार परिवर्तन गरेर बगेका नदीलाई पहिलेकै अवस्थामा फर्काउन तीनै तहका सरकार गम्भीर नबने आगामी दिनमा पनि सयौँ किसानको बिल्लीबाँठ हुने निश्चित भएको स्थानीयको भनाइ छ । स्थानीय सरकारले राजस्व संकलनको बहानमा संवेदनशील खोला तथा चुरे पहाडमा समेत उत्खननको अनुमति दिएपछि यस्तो समस्या भएको हो ।
बालगंगा नदीमा निर्माणाधीन पुलका ठेक्केदारले लगाएको बाँध र रिलायन्स चिनी मिलका कारण खोला साँघुरो भएपछि गाउँमा पसेको जीतपुरसिमरा उपमहानगरपालिाका १९ का वडाध्यक्ष सुदनदास तत्माको आरोप छ ।
यस सम्बन्धमा बाढी आउनुपूर्व नै जिल्ला प्रशासनले बाँध हटाउन निर्देशन दिँदा पनि अटेर गरेका कारण सयौँ बिघाह जग्गामा क्षति पुगेको बताइएको छ । त्यस्तै बालगंगा पुल तीन वर्षमा निर्माण गर्ने गरी जिम्मा लिएका आश्रय निर्माण व्यवसायीले चार वर्ष बित्दा समेत पुल निर्माण गर्न नसक्दा यो समस्या आएको हो ।
प्राकृतिक स्रोतको दोहन होइन, सदुपयोग गरेमा मात्रै यसका दुष्परिणामलाई न्यूनीकरण गर्न सकिन्छ ।  इमेजखबरमा समाचार छ ।