भारतको छत्तिसगढमा पछिल्लो २४ घण्टामा प्रहरीसँग भएको मुठभेडमा ६ जना माओवादी मारिएका छन् ।
मुठभेडका क्रममा माओवादी प्रभावित दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भिडन्तमा माओवादी कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यही महिनाको २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका गतिविधि बढेकाले सुरक्षा कारवाही तीव्र पारिएको प्रहरीले जनाएको छ ।
गत अप्रिल ९ मा माओवादी आक्रमणमा भारतीय जनता पार्टीका विधायक भीमा मंडावीको मृत्यु भएको थियो ।
सोही कारण रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनमा भीमा मंडेवाकी पत्नी ओजस्वीले उम्मेद्वारी दिएकी छिन् भने विपक्षी कँग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मलाई उम्मेद्वार बनाएको छ । (एजेन्सी)