हरेक वर्ष चाडपर्वको समयमा दुर्घटना दर बढ्ने गरेको छ ।
सडकमा सवारीको अत्यधिक चाप, चालकको लापरबाही तथा सडकको दुरावस्थाका कारण हुने दुर्घटनामा कैयौंले अकालमा ज्यान गुमाउँदै आएका छन् ।
बढी दुर्घटना हुने राजमार्गमध्ये पूर्व–पश्चिम राजमार्ग पनि एक हो । जसमध्ये पनि बुटवल–नारायणगढ सडकमा पर्ने पूर्वी नवलपरासीको गैंडाकोटदेखि पश्चिम नवलपरासीको सुनवलसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । यस क्षेत्रमा सानादेखि ठूला दुर्घटना हुने गरेका छन् ।
ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रमसहित चेकजाँचलाई तीव्रता दिएपनि दुर्घटनामा कमी आउन थालेको छैन ।
साँघुरो सडक, यान्त्रिक गडबढी तथा चालकको लापरबाहीका कारण बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक युवराज भण्डारी बताउँछन् ।
दुर्घटनाको कारणमा सबैभन्दा बढी चालकको लापरबाही भएको तथ्यांक छ ।
अन्य समयमाभन्दा चाडपर्वमा दुर्घटना बढी हुने गरेको पाइएको छ । अत्यधिक सवारी चाप, मादकपदार्थ सेवन गरी सवारी–साधन चलाउने गरेका कारण चाडपर्वमा दुर्घटना बढी हुने भएकाले विभिन्न कार्यक्रम सन्चालन गरिएको निरीक्षक भण्डारीको भनाइ छ ।
अर्कोतिर सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएकोप्रति चालकहरु भने आफूहरुलाई मात्र दोष दिएर समस्या समाधान नहुने तर्क गर्छन् ।
छाडा पशुचौपाय, सडकको अवस्था र यात्रीहरु सडकमा जथाभावी हिँड्नाले पनि दुर्घटना हुने गरेको चालकहरु बताउँछन् ।
पूर्वी र पश्चिम नवलपरासीमा साढे दुई महिनाको अवधिमा ६५ ओटा सडक दुर्घटना भएका छन् । जसमा १५ जनाले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गजस्तै देशका अन्य प्रमुख राजमार्गहरुको अवस्था पनि उस्तै छ ।
लामो समयसम्म मनसुन कायम भएकाले सिद्धार्थ राजमार्ग, नारायणगढ–मुग्लिन सडकखन्ड तथा अन्य पहाडी राजमार्गमा पहिरो जाँदा दुर्घटनाको जोखिम झन् थपिएको छ । इमेजखबरमा समाचार छ ।