यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अब सांसदका रुपमा नचिन्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ट गरेका छन् ।
महराले दिएको राजीनामामा शर्त तेर्स्याइएकोमा संवाददाताहरुसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता एवं पूर्वसभामुख नेम्वाङले महरा संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन नपाउने पनि प्रस्ट गरे ।
मंगलबार सिंहदरबारमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले भने, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन ।’
अनुसन्धान सामान्य व्यक्तिसरह नै हुन्छ : महान्यायाधिवक्ता खरेल
यसैगरी, महान्यायाधिवक्ता अग्नि खरेलले बलात्कारमा आरोपित महरामाथिको अनुसन्धान सामान्य व्यक्तिसरह नै हुने प्रस्ट गरेका छन् ।
सरकारका प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता खरेलले महरामाथि लागेको आरोप छानबिनका सम्बन्धमा कुनै कसर बाँकी नछाडिने बताउँदै ढुक्क हुन भने ।
मंगलबार सिंहदबारमा पत्रकारहरुसँग उनले भने, ‘उहाँमाथिको अनुसन्धानमा कुनै छुटको गुन्जायस छैन । सामान्य व्यक्तिमाथि आरोप लाग्दा जसरी अनुसन्धान हुन्छ, यसैगरी यो घटनामा पनि अनुसन्धान हुनेछ ।’
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि महराले मंगलबारै सभामुखबाट नैतिकताको आधारमा राजीनामा दिएका छन् ।
सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले महरालाई सभामुखसँगै सांसद पदबाट राजीनामा दिन भनेपनि उनले सभामुखबाट मात्रै राजीनामा दिएका हुन् । इमेजखबरमा समाचार छ ।