आक्रमणप्रति सरकारको ध्यानाकर्षण

news
राष्ट्रिय मानवअधिकार आयोगले कुनैपनि बहानामा स्वतन्त्रता अपहरण नगर्न तथा सभा-सम्मेलन गर्ने र आफ्नो विचार राख्ने अभिव्यक्ति स्वतन्त्रताको वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा गाउँपालिकाको भवन शिलान्यासका लागि तनहुँ जिल्लाको रिसिङ जानेक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद डा. मीनेन्द्र रिजाललाई तनहुँमा यही असोज १२ गते गरिएको अवरोध एवं ‘नेपालका लागि नेपाली’ अभियानका अभियानकर्ता ज्ञानेन्द्र शाहीमाथि यही असोज ११ गते चितवनमा भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाउँदै सो आग्रह गरिएको हो ।
विज्ञप्तिमा सो घटनाको प्रभावकारी र निष्पक्ष छानबिनमार्फत् दोषीहरु पहिचान गरी कानुनबमोजिम कारबाही गर्न तथा शाहीको सम्पूर्ण उपचार खर्चको व्यवस्था गर्नसमेत आयोगले सरकारसँग आग्रह गरेको छ ।
‘आफ्ना सभा, सम्मेलन तथा गतिविधि गर्दा कुनैपनि व्यक्तिको मर्यादामा आँच आउने गरी अभिव्यक्ति दिन र कुनै व्यक्ति वा निकायले कानुनविपरीत कार्य गरे कानुनी बाटो अवलम्बन गर्न आयोग सम्बन्धित पक्षलाईसमेत आग्रह गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।
नागरिकलाई देशका कुनैपनि भागमा गइ बिनाहातहतियार सभा–सम्मेलन गर्ने, मर्यादित ढंगले विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्ने स्वतन्त्रताको प्रत्याभूति गरिएको छ ।
तनहुँ तथा चितवनका यी घटनाहरूबाट व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता एवं बिनाअवरोध भयरहित वातावरणमा आवतजावत गर्न पाउने अधिकारको उल्लंघन भएको आयोगको ठम्याइ छ ।
‘घटनाका दोषी पत्ता लगाइ कानुनबमोजिम सजाय दिलाउन सरकारले देखाएको उदासीनताले मुलुकमा सुशासन र मानवअधिकारप्रति सरकारले गरेको प्रतिबद्धतामा प्रश्न उठेको छ । निर्वाध आवतजावत र विचार अभिव्यक्तिको स्वतन्त्रताजस्ता मानवअधिकारका आधारभूत प्रश्नमा सरकार गम्भीर नहुनु मुलुकका लागि हितकर हुन नसक्ने आयोगको निचोड रहेको छ’–विज्ञप्तिमा भनिएको छ । रासस