दसैं मनाउन काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्री ठगीमा परे

news
नारायण ढुंगाना (रासस)
काठमाडौं, असोज १५ । दसैं मनाउन काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्री ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् ।
कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्री ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ ।
काठमाडौंबाट हेटौंडा जान लागेका एक यात्रीले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रा गर्न बाध्य भएको बताएका छन् ।
केही यात्री घरमा पुग्न पाइने आशमा बढी भाडा तिर्ने गरेका छन् भने धेरै यात्रीले चाहना नहुँदा–नहुँदै बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् ।
ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीको निगरानी बढाएपनि यात्री ठगिनेक्रम रोकिएको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोसाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको बताए ।
उनले दसैंमा हुने यात्री ठगीका घटना रोक्न विशेष अभियान चलाएको र आजसम्मका २३२ सवारीलाई कारबाही गरिएको उल्लेख गरे । तर, प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रीले गुनासो गरेका छन् ।
ठगी रोक्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । बसपार्क क्षेत्रमा पछिल्लो समयमा प्रगति भइरहेको र ठगिनेक्रम रोकिएको दाबी प्रहरीको छ ।
तर, अन्य क्षेत्रमा अझै प्रहरीको आँखा छलेर पैसा असुल्नेक्रम जारी छ ।
प्रहरीले भिडियो रेकर्ड र बढी भाडा लिएको रसिदसहित पक्राउ गरेर कारबाही गर्दै आएको छ ।
प्रहरीले आफैं ‘प्यासेन्जर’ बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रीसँग जानकारी लिएर कारबाही गर्ने र प्यासेन्जर बस्ने लाइनमा बसेर ‘फलानो ठाउँ जाने’ भनी टिकट मागेर अडियो–भिडियो रेकर्ड गरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउने गरेको छ ।
यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोसाकमा प्रहरी टोली परिचालन गरेको छ ।
प्रहरी नै यात्री बनेर जाँदा… 
ट्राफिक प्रहरी आफैं यात्री बनेर कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ ।
काठमाडौंबाट बर्दिवासको भाडा रु ७०० छ । सादा पोसाकमा यात्री बनेर गएका प्रहरीले कोटेश्वरस्थित टिकट काउन्टरमा पुग्दा रु ९०० भाडा लिएको पाइएपछि टिकट काउन्टरका कर्मचारी अशोक थोकर, प्रशान्त तामाङ र अर्का रवीन्द्रनाथ श्रेष्ठलाई प्रहरीले पक्राउ गर्‍यो ।
बुधबारमात्रै बढी भाडा लिने दक्षिणकाली सुमो टिकट काउन्टरबाट कर्मचारी रामचन्द्र कार्की पक्राउ परेको प्रहरीले जनाएको छ ।
असोज १२ गते वीरगन्ज कलैया सुमो सेवाको टिकट काउन्टरबाट मकवानपुरका श्रीराम स्याङ्तान र चन्दन शाहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
यस्तै, बढी भाडा असुल्ने दीपेन्द्र पौडेल, उपेन्द्र ढुंगाना र विशाल घिसिङसमेत पक्राउ परेका छन् ।
बढी भाडा असुल नियन्त्रण अभियानमा खटिएका एकजना प्रहरी कर्मचारीले रासससँग भने–‘हामी नै यात्री बनेर गएपछि यस्ता कर्तुत फेलापरेको हो । उनीहरुले रसिदमा सरकारले तोकेको भाडा नै उल्लेख गर्ने गरेको र बढी भाडा भने बिनारसिद लिने गरेको पाइयो ।’
महाशाखाका पीडित सहायता एकाइका प्रहरी नायब निरीक्षक रमेश बजगाईंले सर्वसाधारणकोरुपमा यात्री बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताए ।
उनीहरुले गाडी चढ्नुअघि कतिपय यात्रीलाई ‘कन्भिन्स’ गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ ।