बाथ रोगकै वर्गमा पर्ने लुपस रोगका बारेमा चेतना जगाउन अक्टुबर महिनाभरी विश्वभर विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
नेपालमा पनि लुपस रोग प्रभावित महिलाहरुले विभिन्न जनचेतना मुलक कार्यक्रम गरिहेका छन् ।
पुरुषको तुलनामा महिलामा नौं गुणा बढी हुने लुपस रोगबाट विशेष गरी १५ देखि ४५ वर्ष उमेर समूहमा व्यक्ति प्रभावित छन् ।
२५ वर्षकी रेश्मा राईलाई छ वर्ष भयो लुपस रोग लागेको । कलेजवाट घर जाँदै गर्दा बाटोमा बेहोस भएपछि रेश्मालाई अस्पताल लगिएको थियो । अस्पताल गएपछि चिकित्सकले रेश्माको मिर्गौला, नशा र छालामा समस्या भएको बताए ।
तर उनलाई के रोग लागेको थियो भन्ने अझै पत्ता लागेको थिएन् । रोग पत्ता लगाउन रेश्मा दुई वर्षसम्म धेरै अस्पताल धाइन् त्यस पश्चात मात्र थाहा भयो रेश्मालाई लुपस रोग लागेको रहेछ ।
कलेज पढ्दै गरेकी रेश्मालाई चिकित्सकले घाममा निस्कन नै हुँदैन भनेपछि उनी घरबाहिर कतै जान नै पाइनन् । आँखामा समेत समस्या देखिएको रेश्माले पढाइलाई निरन्तरता दिन सकिनन् ।
जीवनदेखि धेरै नै निराशा भएको बताउने रेश्माले औषधीका कारण केही ठिक भएपछि अब भने बाँच्ने आशा पलाएको बताउँछिन् ।
रेश्माको जस्तै पीडा छ, ४० वर्षीया बबिता बुढाथोकीको पनि । १७ वर्षदेखि लुपस रोगबाट पीडित बबिता पेशाले नर्र्स हुन ।
परीवारको साथ र सहयोगको कारण हाल बबिता लुपस रोग सम्बन्धि जनचेतना फैलाउने कार्यक्रममा हिँडिरहेकी छिन् ।
३१ बर्षीया सृष्टि श्रेष्ठलाई पनि १९ वर्षको उमेरमा लुपस रोग देखिएको थियो ।
सृष्टिले पनि लुपस रोग लागेको लामो समयपछि मात्र थाहा पाएकी थिएन् । हाल भारतमा उपचार गराइ रहेकी सृष्टि विद्यालयहरुका वेकरी सम्बन्धि तालिमहरु दिने गरेकी छिन् ।
लुपस रोग लागेका महिलाहरुले लुपस नेपाल नामक संस्था खोलेर लुपस रोगबारे जनचेतना फैलाउने गरेका छन् ।
रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति नै जब मानिसको विभिन्न अंग माथी नै जाईलाग्न थाल्छ त्यसलाई लुपस रोग भनिन्छ ।
यसले शरीरका विभिन्न अंगहरुलाई असर गर्न थाल्छ भने यो रोग जीवनभर निको हुँदैन् ।
बिरामीले जिवनभर नै औषधी खानु पर्ने चिकित्सकहरु बताउँछन् । के कारणले लुपस रोग लाग्छ भन्ने अझै पत्ता लाग्न भने नसकेको चिकित्सकहरुको भनाइ छ ।
तर लुपस रोग देखिसके पछि चिकित्सको सम्पर्कमा रहने र नियमित औषधी सेवन गर्ने हो भने पनि सहज जीवन यापन गर्न सकिने चिकित्सकहरु बताउँछन् । इमेजखबरमा समाचार छ ।