देशका २७ लाख बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइँदै

news
देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गर्ने भएका छन् ।
कार्यक्रमअन्तर्गत् जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइनेछ ।
बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।
स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ कार्यक्रमका लागि ७५३ ओटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।
मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकताप्राप्त सो कार्यक्रम सफलतापूर्वक सन्चालन गरेका थिए ।
मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ ।
ती कार्यक्रमका लागि करिब रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।
सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए ।
उनले भने–‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।’
किन आवश्यक पर्छ भिटामिन ‘ए’ ?
बालबालिकालाई रोगसित लड्नसक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ ।
खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए ।
यसैगरी, सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइनेछ । जुकाका कारण रक्तअल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।
यसैगरी, बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् ।
पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहारकाबारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत् रहेको छ ।
बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ ।
ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । रासस