सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको एक यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
डीएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारीअनुसार मृतकमध्ये ९ महिला, पाँच बालक, दुई बालिका र एक पुरुष हुन् ।
डीएसपी काफ्लेले तीमध्ये केहीको सनाखत भइसकेको जनाएका छन् ।
दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये बसका चालक धनबहादुर तामाङ पनि छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
केही घाइते ‘डिस्चार्ज’समेत भइसकेको डीएसपी काफ्लेले बताए ।
आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको हो ।
बस सडकबाट सुनकोसी नदीको बीचमा खसेको थियो । बस खसेलगत्तै केही यात्रीलाई नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका थिए ।
बस नदीबाट किनारमा निकालिएको छ । रात परेपछि उद्धारकार्यमा समस्या देखिएको छ ।
दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
३४ यात्री रहने बसमा सवार ६७ जनाको गणना भएपनि कति यात्री सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।
क्षमताभन्दा बढी यात्री र तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।