पश्चिम म्याग्दीको दरवाङबाट बिमतर्फ जाँदै गरेको मिनीबस भीरबाट खस्दा चारजनाको घटनास्थलमै मृत्यु

पश्चिम म्याग्दीको दरवाङबाट बिमतर्फ जाँदै गरेको मिनीबस आइतबार साँझ भीरबाट खस्दा एक ११ वर्षीया बालिकासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिम मालिका–७ बिममा भएको दुर्घटनामा परी २२ जना घाइते भएका छन् । ग १ ज २४३६ नम्बरको बस सडकबाट तल खसेर भीरमा अड्किएको हो ।
घटनास्थल पुगेकी मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुका अनुसार मालिका गाउँपालिका-७ बिममका वडाध्यक्ष रेशम जुग्जालीकी ११ वर्षीया छोरी आयुसा र स्थानीय सतदेवी भट्टचनको मृत्यु भएको छ । अन्य दुई जनाको नाम खुलेको छैन । २२ जना घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ पुर्‍याइएको छ । घाईतेहरुको अवस्थाबारे बेखबर रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट घाइतेको उपचार भैरहेको स्थलतर्फ आफूहरु जाँदै गरेको प्रहरी निरीक्षक रामप्रसाद पाण्डे जानकारी दिए ।
घाइते अधिकांस किसानी माध्यमिक विद्यालय बिममा सञ्चालित कृषि प्राविधिकधार तर्फका विद्यार्थी छन् । दसैं–तिहार मनाएर विद्यालय फर्केका विद्यार्थी दुर्घटनामा परेका हुन् ।
अँध्यारो र अप्ठ्यारो भीरमा बस अड्केकाले सबै घाइतेको संख्या यकिन हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख समेत रहेका निरीक्षक पाण्डेले बताए । उनका अनुसार मालिका गाउँपालिका केन्द्र दरवाङबाट यात्रु लिएर गएको स्थानीय रुटमा चल्ने उक्त बस साँझ बिमको घुम्तीमा मोड नपुग्दा सडकबाट तल खसेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मालिका-५ बिमका हुमबहादुर जुग्जाली, पलप्रसाद जुग्जाली, कृष्टिना जुग्जाली, नरदेवी परियार, दिलु शेरपुजा, तनदेवी जुग्जाली, चन्द्रकली दर्जी, सुरेश जुग्जाली, देवी जुग्जाली, लिला जुग्जाली रहेका छन् । त्यसैगरी मंगला गापा-५ छिस्वाङ्गकी रमिला खत्री, बेनी-३ का केशव शर्मा, धौलागिरी-३ की रिलमायाँ बुढा, बेनी-९ का विसन खत्री, बेनी-४ का गौरव पौडेल, प्रमिस पौडेल, बाग्लुङ्ग ताराखोलाका विजय कंडेल लगायत घाइते भएका छन् । कान्तिपुरमा समाचार छ ।