नारायण खनाल
मालारानी गाउँपालिका ३ खनार
अर्घाखाँची
कात्तिक २०, अर्घाखाँची ।
” सन्देश सगरमाथाको”
प्रिय नेपाली जन!
आमा लुछिइरहँदा,लुटिइरहँदा
र टुक्रिइरहँदा पनि
संरक्षणका खाँतिर कोही नजागेको देखि
मन थाम्न नसकेर यो सन्देश लेख्दै छु
नेपाली हुनुको नाताले
नेपाली पनको आभाषै नपाए पछि
साह्रै मन कुँडिएको छ, निसास्सिएको छ
तन आहतले मर्माहत भएको छ
छिमेकीले आमालाई जिस्काइरहेको छ
कहिले सुस्ता लुछ्छ
कहिले कञ्चनपुर चुस्छ
भर्खरै लिम्पियाधुरा,लिपुलेक
र कालापानी आफ्नो ज्यानमा गाभेर
एउटा चित्र कोरेको छ छिमेकीले
जसबाट सिंगो स्वाधीनता माथि
आक्रमण भएको छ
संसार नियाल्न सक्ने उचाइमा रहेको
उनै नेपाल आमाको सन्तान
म “सगरमाथा “मेरै नेपाली दाजुभाइको
स्वाभिमान खस्केको देख्छु
अटलता हिलेको भेट्छु
अनि कसरी थाम्नु यो मन ?
भक्कानिन्छु,मुर्छित बन्छु
फेरि सम्हालिन्छु ,साहस बटुल्छु र भन्छु
जाग नेपाली जाग
के हाम्रो बहादुरीता फगत थियो ?
फोस्रो थियोे
नत्र कोही किन जाग्दैन स्वाधीनता बचाउन
सार्वभौमिकता जोगाउन
किन खस्कियो वीरताको गाथा
राष्ट्रप्रेम ओइलिएकै हो र ?
आफ्नै आमाको तुना तानिदिएको
कान च्यातिदिएको हेरिरहन्छौ जन हो
साँच्चै पोल्दैन र मुटु ,जल्दैन र मन ?
आमा नै नरहे ,तिमी बाँचेको जुनि
छ र नेपाली हो ?
कति निष्ठुरी सन्तान बन्यौ
आमाको दु:ख नै, न देखे जस्तै गर्ने
आमाको मुटुबाट
धमनिहरू निकालेर
आफ्नो ज्यानमा गाभ्ने दुष्ट छिमेकीको
विरोधमा
सबै जनता एक भए र उठेको खै ?
“गुलामी गरे बापत
तिमीले पाउने कलो भन्दा
आमाको काखमा रम्ने सौभाग्य
अमूल्य हुन्छ भन्ने कुरा तिम्रा
मुखियाहरूलाई सम्झाएको खै ?”-२
प्रिय नेपाली मन!
राष्ट्रप्रेमले भरिएका
कलिला ओंठहरूमा
साहसको सञ्चार गर
राष्ट्रियताको निम्ति घन्केका
आवाजलाई बुलन्द पार
हिमालबाट बगेको पानीबाट शक्ति
आर्जन गर
पहाडी हावा बाट राष्ट्रभक्ति सिक
तराईका फाँटहरूबाट
एकता चौडाउन सिक
छिमेकीले तड्पाएर छियाछिया परेकि
आमाको क्रन्दन सुन ,आँसुका झरना हेर
विषले लठ्ठीएर ,ज्युँदै मरेकोजस्तो
नाटक नगर
नेपाली शान ,नेपाली राष्ट्रिय झन्डा तिम्रै
सगरमाथामा फहराउ
प्रिय नेपाली जन !
आमाको स्वास नलि छिनिदिन
सक्छ छिमेकीले
त्यसमाथि अझै
आफ्नै सन्तान हुँडार र बाँदर बनेकामा
मुर्छित छिन आमा
मुर्छित आमाको होस फर्काउन
नेपाली भएको आभास देउ
यो सगरमाथाको देश हो
जहाँ उच्च साहस मात्रै सुहाउँछ
आफ्नै आमालाई चिमोटेको
चिथोरेको सहेर नबस
नेपाली हुनुको पहिचान देउ
प्रिय नेपाली मन !
नेपाली हुनुको पहिचान देउ।