निर्माण व्यवसायी महासंघले देशव्यापी आन्दोलन गर्ने

news
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधनको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।
सरकारसँग पटक–पटक वार्ता भएपनि कुनै सुनुवाइ नभएकाले आन्दोलनमा जान बाध्य भएको महासंघको भनाइ छ ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै अब आन्दोलनको विकल्प नभएको बताए ।
उनले सरकारले समयमै बजेट निकासा नगर्दा कतिपय आयोजनाहरु अलपत्र अवस्थामा रहेको जिकिरसमेत गरे ।
निर्माणकार्य समयमै सम्पन्न नहुनुमा सरकारी पक्षको कमजोरी देखिएपनि आफूहरुमाथि चौतर्फी आक्रमण हुनु दुःखद् भएको उनको भनाइ थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएपछि निर्माण व्यवसायीहरुले आफ्ना माग पूरा गर्न दबाब दिन सुरु गरेका छन् ।
तर, समयमै आयोजनाहरु सम्पन्न नगरी चरम लापरबाही गरेको भन्दै जनस्तरबाटै निर्माण व्यवसायीहरुको चर्को आलोचना हुने गरेको छ । रासस