तेह्रथुमको तमोर नदीमा तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने

news
तेह्रथुमको तमोर नदीमा तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएको छ ।
आयोजना निर्माणका लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि यस क्षेत्रका नागरिक उत्साहित भएका छन् ।
७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुशी छाएको छ ।
लगानीको टुंगो लागेपछि आयोजना बन्ने निश्चित भएको र यसले पहाडका चार वटै जिल्लामा विकासको ढोका खुलेको भन्दै स्थानीय खुशी भएका हुन् ।
प्राधिकरणले गरेको पछिल्लो अध्ययनले पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बा, भाङटार, जोरामौरे र तेह्रथुमको छथर गाउँपालिका ३ र ४ नम्बर वडाको ओख्रे नौढुंगे बीचमा बाँध बाँधेर आयोजना निर्माण गर्न सकिने बताइएको छ ।
आयोजना निर्माणपछि चार वटै जिल्लाको कृषि, पर्यटन, जलविद्युत् र पर्यावरण संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।
आयोजना सुरु भएपछि स्थानीयस्तरमै रोजगारी र विकासका अवसर सिर्जना हुने म्याङलुङ नगरपालिका २ का अध्यक्ष शम्भु तुम्बाहाङफेले जानकारी दिए ।
२ सय मिटर उचाइको बाँध बनाएर ७ सय ६२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।
आयोजना निर्माण गर्न १ खर्ब ५० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुभन्दा केही दिनअघि मात्र आयोजना बनाउन सम्झौता भएको थियो । रासस