महेन्द्र राजमार्गअन्तर्गत् बुटवल–नारायणगढ सडकखन्ड चार लेनको बनाउने कार्यलाई तीव्रता दिइएको छ । अहिले यस क्षेत्रमा पर्ने रुख काट्न सुरु गरिएको छ ।
लोकाह जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो ।
रुख काट्न थालिएपछि सडक निर्माण अघि बढ्ने जनाइएसँगै रुख कटान थालिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
यसबाहेक महेन्द्र राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप तीन हजार ७०६ ओटा रुख काट्ने अनुमतिका लागि प्रक्रिया अघि बढाइसकेको बुटवल नारायणगढ सडक पूर्वी खन्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिए ।
वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई एक पत्र पठाएर सडक फराकिलो पार्न ४६ हजार रुख काट्ने अनुमति दिएको थियो ।
सडक निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी)ले रुख काटेर धमाधम काम गर्ने बताएको छ ।
बुटवल–नारायणगढ खन्डको दायाँ–बायाँ पर्ने विद्युत्का २४ सयओटा पोल हटाउनका लागि पनि टेन्डरको प्रक्रिया सुरु भएको बताइएको छ । साथै, राजमार्गमा रहेका साना कल्भर्ड निर्माण धमाधाम भइरहेको छ । इमेजखबरमा समाचार छ ।