राज्यपक्षले संक्रमणकालिन न्याय निरुपणको विषयलाई गम्भीर रुपमा नलिंदा पीडितहरुले न्याय पाएनन्

news
सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको छानविन, सत्य अन्वेषण तथा अभिलेखन गरी वास्तविकता सार्वजनिक गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन गरिएको थियो ।
यस्तै हराएका व्यक्तिहरुको छानविन गर्न बेपत्ता पारिएका व्यक्ति छानविन आयोग गठन गरियो । तर, राज्यपक्षले संक्रमणकालिन न्याय निरुपणको विषयलाई गम्भीर रुपमा नलिंदा पीडितहरुले न्याय पाउन सकेका छैनन् ।
१० वर्षे शस्त्र द्धन्द्धकालका डिजाइनर तथा वर्तमान नेकपा एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालमा मारिएका मध्ये ५ हजारको मात्र जिम्वेवारी लिने बताएका छन् ।
तर, सोही मुद्धाको अध्ययन अनुसन्धान गरेर सरकारलाई क्षतिपूर्तिका लागि सिफारीस गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको खोजी आयोगले उजुरी लिने बाहेक केही काम गर्न सकेको अवस्था छैन ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले पटक पटक सूचना जारी गरेर ६३ हजार ५ सय २३ वटा उजुरी संकलन गरेको छ । त्यसमध्ये १ सय ४ वटा निवेदनले उजुरीको संज्ञा लिएको छैन ।
त्यसो त आयोगले आफ्ना काम कारवाही ७ वटै प्रदेशबाट गरिरहेको छ । प्राप्त उजुरीका आधारमा १० हजार २ सय ३ मुद्धा आयोगले प्रदेशमा पठाएकोमा ३ हजार ७ सय ८७ उजुरीको प्रारम्भिक अनुसन्धान मात्र भएको छ ।
३ चरणमा सूचना जारी गरेर बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले ३ हजार १ सय ९७ उजुरी संकलन गरेको छ । जसमध्ये २ हजार ५ सय ६ वटा उजूरी विस्तृत छानविन गर्नुपर्ने देखिएको छ ।
आयोगका अनुसार हाल २ हजार ८ उजुरीमाथि अनुसन्धान भइरहेको छ । द्धन्द्धकालमा बेपत्ता पारिएका व्यक्तिहरुको खोजी गर्न आयोग बनेको हो । तर, आयोगले पनि उजुरी लिने बाहेक उल्लेख्य काम गर्न सकेको छैन ।
त्यसमाथि आयोगहरु लामो समयदेखि पदाधीकारीविहिन बन्दा उजुरी संकलन बाहेक पिडितहरुलाई न्याय दिने प्रक्रिया शुरु नै भएको छैन । न्याय नपाएर पिडितहरु छटपटिरहँदा सत्तामा रहेको तत्कालीन विद्रोही दलले समयमै ध्यान दिन जरुरी छ । इमेजखबरमा समाचार छ ।