राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम शुरु

news
हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले आज(शनिबार)देखि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम सुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका विभिन्न १३ जिल्लामा आजदेखि यो कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमअन्तर्गत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
त्यस्तै, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पनि आजैबाट यो कार्यक्रम सुरु भएको छ ।
हात्तीपाइलेको औषधिले असर गर्ने हल्लाका कारण कतिपय मानिस औषधी सेवन गर्न डराएको भन्दै निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ ।
चिकित्सकहरूले खाली पेटमा औषधि नखान र औषधि सेवनपछि टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्नेजस्ता समस्या आउँदा नआत्तिन पनि सुझाएको छ ।
औषधिको असरले लामो समयसम्म असर कायम रहेमा भने स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको भनाइ छ ।
महाशाखाले दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरीले भने हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने प्रष्ट पारेको छ ।
लिम्फाटिक फाइलेरिया भनेर चिनिने हात्तीपाइले रोग सरुवा रोग हो । इमेजखबरमा समाचार छ ।