विद्युत प्राधिकरण विद्युत् चुहावट १० प्रतिशत भन्दा तल कायम गर्न सफल

news
नेपाल विद्युत प्राधिकरण विद्युत् चुहावट १० प्रतिशत भन्दा तल कायम गर्न सफल भएको छ ।
यसबाट चुहावटमा खेर जाने १० अर्ब बराबरको रकम जोगिएको छ ।
प्राधिकरणले देशव्यापीरुपमा संचालन गरेको चोरी तथा चुहावट नियन्त्रणकै परिणाम, चुहिएर जाने विद्युतको समेत आर्थिक लाभ प्राप्त भएको जनाएको छ ।
नियमित विद्युत् आपूर्तिपछि  चोरी तथा चुहावटमा संलग्न समेत हच्किएको प्राधीकरणले जनाएको छ ।
प्राधीकरणका अनुसार, चालू आर्थिक वर्षको पहिलो छ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ ।
आर्थिक बर्ष २०७५/७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावट चालू बर्षको पहिलो छ महिनामा १.५० प्रतिशत विन्दुले घटाएर ९.७८ प्रतिशतमा सीमित भएको प्राधिकरणको दावी छ ।
चालू बर्षमा वितरणतर्फको चुहावट ८.५० प्रतिशतमा सीमित गर्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार तथा विस्तारमा ध्यान केन्द्रित गरेको जनाएको छ ।
आव २०७२/७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५/७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको थियो ।
चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने प्राधिकरणको लक्ष्य छ । सामान्यता प्राविधिक चुहावट घटाउन ठूलै मेहनत जरुरी पर्छ ।
तर त्यसलाई समेत क्रमशः घटाउँदै जाने प्राधिकरणको लक्ष्य रहेको छ ।
चुहावट नियन्त्रणबाट मात्रै वार्षिकरुपमा १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
विद्युतभार कटौतीको अन्त्य भई नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका प्रभावकारी कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको घिसिङले बताएका छन् । इमेजखबरमा समाचार छ ।