नेपाली यात्रु बोकेको बस भारतको तमिलनाडुमा दुर्घटनामा ६ जना नेपालीको मृत्यु

नयाँदिल्ली — दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति भएको सडक दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । ३४ जना नेपाली तीर्थयात्रुहरु बोकेको बस कन्याकुमारीबाट कर्नाटकको बैंग्लोर जाँदै गरेका बेला दुर्घटनामा परेको हो ।
 
तमिलनाडुको सालेम जिल्लास्थित ४४ नम्बर हाइवेमा भारतीय समयअनुसार ११ बजेर ५५ मिनेट जाँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा चार जना पुरुष दुई जना महिला छन्। दुर्घटनामा वीरबहादुर राई, टिकाराम चौधरी, गोपाल तामाङ, विष्णु दाहाल, फुलसरी चौधरी र बुधनी चौधरीको मृत्यु भएको सँगै यात्रामा गएका अमरनाथ चौधरीले जानकारी दिए। ‘कर्नाटकको मधुराईस्थित मिनाक्षी मन्दिर दर्शन गरेर नासिक फर्कने योजना थियो, तर, अचानक यस्तो दुर्घटना भयो,’ अमरनाथले भने।
 
अमरनाथका अनुसार दुर्घटनाका बेला बस राजमार्गको छेउमा रोकेर राखिएको थियो। चालकले राति गाडी नचलाउने भनेपछि केही यात्रुहरु रात बिताउन मन्दिर खोज्दै थिए। एउटा मन्दिर भेटिएपछि चालकले बसलाई त्यतैतर्फ मोड्दै थिए। तर, त्यहीबेला विपरीत दिशाबाट तीव्र गतिमा आएको रात्री बसले नेपाली यात्रु चढेको बससँग ठोक्कियो।
दुर्घटनामा २१ जना घाइते भएका छन्। अधिकांशको हातखुट्टा भाँचिएको र केही ढाडमा समेत चोट लागेको छ। घाइते मध्ये जसमध्ये चार जना गम्भीर रहेको चौधरीले बताए। घाइतेहरुको सालेमकै सरकारी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परेको बस ३४ यात्रु लिएर दक्षिण भारतका विभिन्न तीर्थस्थलको भ्रमणका लागि २३ माघमा सुनसरीको दुहबीबाट छुटेको थियो। कान्तिपुरमा समाचार छ ।