त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले साेमबार एक विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो ।
विमानस्थलबाट आवतजावत गर्ने सबै यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन आग्रह गरिएकाे छ । यस्तै, विमानस्थलमा अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि निर्देशन गरिएको छ ।
चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य संघठनले नेपाललाई उच्च जोखिममा राखेकाले यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । नयाँपत्रीकामा समाचार छ ।