हेटौंडामा जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार

news
मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । 
दुर्घटनामा परी तीनजनाको घटनास्थलमा र एकजनाको पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन् ।
दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।
प्रहरीकाअनुसार घटनास्थलमा नै मृत्यु भएका अर्का एकजनाको भने सनाखत हुन सकेको छैन ।
उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उनीहरुलाई घर फर्काइएको र अन्यको हेटौंडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ मकवानपुरगढी–१, घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको ना३ख ३५५६ नम्बरको बस शिखरकटेरीको गैरीभञ्ज्याङमा दुर्घटना भएको थियो । रासस