कृष्ण पाण्डे
बुटवल, २७ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मन्त्रीमण्डल विस्तारको तयारी गर्नुभएको छ । विभिन्न मन्त्रालय आफैसँग राखेर काम गर्नुभएका मुख्यमन्त्री पोख्रेलले लामो समयपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको हो ।
अहिले प्रदेश- ५ काे मन्त्रीमण्डल ७ सदस्यीय रहेकाे छ । अब नयाँ मन्त्री थप भएपछि मन्त्रीमण्डका सदस्यकाे संख्या १० पुग्नेछ ।
यी हुन् मन्त्री बन्ने लाइनका सांसद
मुख्यमन्त्री शंकर पोख्रेलले मन्त्री थप गर्ने सूचीमा तीन सांसदकाे नाम छ । जसमा कपिलवस्तुका विष्णु पन्थी, प्युठानका हरि रिजाल, अर्घाखाँचीका चेतनारयण आचार्य रहेका छन् । त्यसमध्ये पन्थीलाई आर्थिक मामिला तथा योजना मन्त्री, रिजाललाई कानुन र आचार्यलाई भूमि व्यवस्था मन्त्रीमा नियुक्त गर्ने मुख्यमन्त्री कार्यालयको तयारी छ ।
हाल आर्थिक मामिला तथा योजना मुख्यमन्त्री शंकर पोखरेलले नै सम्हाल्दै आउनुभएको छ । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई छुट्टाछुट्टै बनाउने र भूमि व्यवस्था, कृषि तथा सहकारीबाट भूमि व्यवस्थालाई छुट्याउने तयारी छ। आकांक्षी धेरै भएकाले वन तथा वातावरण मन्त्रालय पनि अलग गराउने विषयमा छलफल भइरहेको बुझिएको छ। हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको छ।
प्रदेश ५ मा दाङबाट निर्वा्चित शंकर पोखरेल मुख्यमन्त्री, रोल्पाका कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानुनमन्त्री, नवलपरासीका बैजनाथ चौधरी भौतिक पूर्वाधार मन्त्री, रुपन्देहीका लिला गिरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् ।
यसैगरी गुल्मीका सुदर्शन बराल सामाजिक विकास मन्त्री र बाँकेकी आरती पौडेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
१२ जिल्ला रहेको प्रदेश ५ मा हरेक जिल्लालाई सम्बोधन गर्नेगरी बढीमा ११ सदस्यीय मन्त्रीपरिषद् गठन गर्न सकिने गरी खाका बनाइएको छ।