नेपालमा कोरोनाभाइरसको शंकामा हालसम्म ४५० जनाको नमुना परीक्षण, ‘पोजिटिभ’ देखिएका एकजना पनि स्वस्थ

news
नेपालमा ‘कोरोनाभाइरस’को शंकामा हालसम्म ४५० जनाको नमुना परीक्षण गरिएको सरकारले जनाएको छ ।
त्यसमध्ये एकजनामामात्रै ‘पोजिटिभ’ भेटिएको र उनी पनि उपचारपछि स्वस्थ भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शंकास्पद ४५० जनाको नमुना परीक्षण गर्दा एकजनामा पोजिटिभ देखिएपनि उनी पनि निको भइसकेको जानकारी दिएका हुन् ।
यस्तै, संक्रमणको आशंकामा ६ जना राजधानीको टेकु र पाटन अस्पतालको ‘आइसोलेसन वार्ड’मा रहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाको संक्रमण नरहेको र महामारीको अवस्थासमेत नरहेको पनि स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
सरकारले पर्याप्त तयारी गरेको र उपत्यकामा १५५ वटा आइसोलेसनकक्ष तयारी अवस्थामा राखिएको पनि जनाइएको छ ।
सरकारले शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न पहिलो तहमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, एपीएफ अस्पताल तोकेको छ । अरु उपचार केन्द्रका बारेमा भने केही बताइएको छैन ।
यसैगरी, मन्त्रालयले कोही नागरिक नेपालबाहिर जान लागेको खण्डमा कोरोना नरहेको प्रमाणपत्र चाहिने अवस्थामा टेकु अस्पतालले आवश्यक जाँचको आधारमा रिपोर्ट दिने गरेको पनि जनाएको छ । इमेजखबरमा समाचार छ ।