सरकारले नेपालमा ‘कोरोनाभाइरस’को संक्रमण फैलन नदिन उक्त रोगको उच्च संक्रमण भएका ८ मुलुकका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने निर्णय गरेको छ ।
सरकारले चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अन अराइभल भिसा नदिने निर्णय गरेको हो ।
कोरोनाभाइरसको उच्च जोखिममा रहेका ती मुलुकबाट आउने यात्रुले रोग नभएको प्रमाणित हुने कागज ल्याएमा भने नेपालमा प्रवेश पाउने छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी ती मुलुकबाट आउनेहरुलाई भाइरस नभएको प्रमाणित हुने कागजपत्र अनिवार्य चाहिने व्यवस्था गरिएको जनाएको हो ।
उच्च जोखिम भएका मुलुकबाट आउने सबै यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको ‘स्क्रिनिङ’ र स्वघोषणा फारम अनिवार्य भर्नुपर्ने छ ।
स्वस्थ रहेका व्यक्तिले पनि स्वयं ‘क्वारेन्टाइन’मा बस्ने लिखित प्रतिबद्धता पनि गर्नुपर्ने छ ।
चीन र भारतसँग सीमा जोडिएका प्रवेश नाकाहरुमा स्थापना भएका ४३ वटा ‘हेल्थ डेस्क’बाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्क्रिनिङ, स्वास्थ्य परीक्षण पनि गरिने सरकारले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १८ जना ‘सर्भिलेन्स’ अधिकृतलाई रोगको निगरानी, रोकथाम र नियन्त्रणका लागि खटाउने तयारी गरेको पनि बताए ।
देशव्यापीरुपमा चेतनामूलक जानकारी प्रवाह गर्ने तथा केन्द्रीय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबाट प्रदेश सरकार र स्थानीय तहसँग बिरामीको उपचार तथा व्यवस्थापन गर्न समन्वय भइरहेको उनले बताए ।
नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन अन्तरसीमा बैठक भइरहेको उनको भनाइ छ ।
संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमका अवस्था हेरी त्यसका लागि चाहिने ‘आइसोलेसन बेड’, औषधि उपकरण, आवश्यक जनशक्तिसहितको योजना पनि बनाइएको छ । इमेजखबरमा समाचार छ ।