‘विदेशबाट आउने नेपाली १४ दिन ‘सेल्फ क्वारेन्टाइन’मा नबसे कारबाही’

news
विदेशबाट नेपाल आउने नेपाली नागरिकहरुले अनिवार्यरुपमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ ।
नेपाल आउने सबै नेपालीलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने भन्दै सरकारले आफ्नै घरमा क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।
सरकारले सेल्फ क्वारेन्टाइनमा बसे/नबसेको सूचना संकलन पनि गर्ने भएको छ ।
विदेशबाट आएका नेपालीहरु सेल्फ क्वारेन्टाइनमा बसे/नबसेकोबारे सरकारले सूचना संकलन गरिरहेको दाबी गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरुको ठेगाना, मोबाइल नम्बरलगायतका विवरण संकलन गरिएको छ ।
कसैको ‘कोरोनाभाइरस पोजिटिभ’ देखिए उनीहरुले ‘आइसोलेसन’मा जानुपर्ने छ ।
क्वारेन्टाइनमा बसे/नबसेको जानकारी लिन सरकारले ललितपुरको जाउलाखेलमा ‘कल सेन्टर’समेत स्थापना गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले उनीहरुको प्रत्येक दिनको अवस्थाबारे सूचना संकलन सुरु भइसकेको दाबी गरे ।
सेल्फ क्वारेन्टाइन भन्नाले घरमा नै परिवारको सदस्यसँग सँगै नबस्ने, भेटघाट नगर्ने, कोठामा एक्लै बस्ने, बाहिर ननिस्कने, नजिकबाट कुराकानी नगर्नेजस्ता सावधानी अपनाउनु पर्छ ।
यसरी क्वारेन्टाइनमा नबसेको जानकारी प्राप्त भए कारबाहीमा समेत पर्न सकिने डा. श्रेष्ठले बताए ।
हाल कतिजना कहाँ क्वारेन्टाइनमा बसेका छन् भन्ने यकिन तथ्यांक नभएको भन्दै डा. श्रेष्ठले नेपाल आउने सबैको विवरण राख्ने छुट्टै सफ्टवेयर बनाउने तयारी भइरहेकोसमेत जानकारी दिए ।
कोरोना संक्रमण हुन नदिन सजगता अपनाउनु राम्रो हो । तर, विदेशबाट नेपाल आउने हरेक नागरिक देशका कुन ठाउँमा कसरी बस्छन् भनेर निगरानी गर्ने काम भने सजिलो छैन । इमेजखबरमा समाचार छ ।