कोरोना भाइरस: देशभरका शिक्षण संस्थाहरु बन्द, २५ जनाभन्दा बढी जम्मा हुने नपाइने

सरकारले कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि मानिसहरु जमघट हुने सबै स्थानहरुसहित शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन जारी गरेको छ।
सरकारले अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि बुधबार निर्देशन दिएको छ। त्यस्तै सार्वजनिक सवारी साधनमा सिट क्षमतामा मात्र यात्रु ओसारप्रसार गराउन पनि निर्देशन दिइएको छ। कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यो निर्णय गरेको हो।
सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापानबाट आउने  र ती मुलुकका ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई शुक्रबार मध्यरातदेखि लागुहुने गरी प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ।
बिहीबारदेखि सञ्चालन हुन लागेको एसईई परीक्षा हेल्थ डेस्क स्थापना गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने तर अन्य सबै शैक्षिक संस्थाहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। सरकारले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट गलत सूचना र अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ। देशसन्चारमा समाचार छ ।