२५ जनाभन्दा बढी भेला नहुन भने पनि मठ–मन्दिर र मस्जिदमा भीडभाड कम भएन
चैत्र ७ गते, २०७६ मा प्रकाशित
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले गरेको आह्वान धार्मिकस्थलहरुमा लागू नहुने भएको छ ।
धार्मिक संघ–संस्थाहरुले सरकारी निर्णयलाई धार्मिक आस्थामाथिको हस्तक्षेपको रुपमा लिएका छन् ।
‘कोरोना’ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, आवतजावत र हिँड्डुल नगर्न अपिल गरेको थियो ।
तर, धार्मिक गतिविधिमा भने सरकारले गरेको आह्वानको बेवास्ता भइरहेको अवस्था देखिन्छ ।
हरेक शुक्रबारका दिन मस्जिदहरुमा भीडभाड लाग्ने गर्छ । मस्जिदमा सामूहिकरुपमा प्रार्थना गर्न जानेको लर्को रोकिएन ।
नेपाल जामे मस्जिदका अध्यक्ष अब्दुल समिम धार्मिक आस्थाको विषयमा कुनैपनि हस्तक्षेप गर्न नमिल्ने बताउँछन् ।
तर, कोरोनाको संक्रमण फैलन नदिनका लागि अपनाउनुपर्ने सम्पूर्ण विधि भने हुने अध्यक्ष अब्दुल समिम बताउँछन् ।
यता, हिन्दु धर्मावलम्बीहरु आस्थाका मन्दिर जान छोडेका छैनन् । पशुपति मन्दिरलगायत उपत्यकाका अन्य मन्दिरहरुमा पनि सामूहिक पूजापाठ रोकिएका छैनन् ।
यस्तै, मलामी जाँदा सामूहिकरुपमा आर्यघाट पुग्ने परम्परा त छँदैछ । यसमा सरकारले हस्तक्षेपकारी भूमिका पनि निर्वाह गरेको देखिँदैन ।
पशुपति विकास कोषका कार्यकारी अध्यक्ष डा. घनश्याम खतिवडा पनि धार्मिक आस्थामा कुनैपनि हस्तक्षेपकारी भूमिका खेल्न नसक्ने बताउँछन् ।
त्यसैगरी, साँस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाइएको छ ।
भक्तजनहरु देवी–देवताहरुको पूजापाठ र प्रार्थनाबाट रोगव्याध हट्ने र कोरोनाको जोखिमबाट पनि मुक्त हुन सकिने विश्वास मन्दिर पुग्ने भक्तजनहरुको छ ।
पशुपति मन्दिरमा दैनिक हजारौं मानिस पुग्ने गर्छन् । मन्दिर पुग्दा प्रवेशद्वारमा कोरोनाको संक्रमण रोक्न मन्दिर छिर्ने मूलगेटमै स्यानिटाइजर राखिएको छ ।
कोरोना संक्रमण रोक्न सरकारको आदेशअनुरुप विकास कोषले सामान्य सतर्कता अपनाएको भएपनि कोरोना संक्रमण नियन्त्रण गर्न अपनाउनुपर्ने विधिलाई स्वयं विकास कोष र मुस्लिमको भीडभाड लाग्ने जामे मस्जिदलगायत अन्य धार्मिक मन्दिरहरु पनि सरकारको निर्देशन पालना गर्न असमर्थ देखिन्छन् । इमेजखबरमा समाचार छ ।