देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु बन्द भएका हुन् ।
आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको संक्रमणको सम्भावना हुने हुँदा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न अदालतहरु बन्द गरिएको सर्वोच्च अदालत स्रोतले बताएको छ ।
बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने छन् । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन ।
यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।
सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन साताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो । इमेजखबरमा समाचार छ ।