–लक्ष्मणदेव पाण्डे
दया, माया, अर्मो–पर्मोले सज्जित मेरो गाउँ
एक अर्कामा नाताबाट सम्बोधन हुने मेरो गाउँ
शहर केन्द्रीत हावाबाट रित्तिरहेको मेरो गाउँ
शहरको बिषालु हावाबाट बच्न खोजिरहेको मेरो गाउँ
केही वर्षदेखि आमा बा को मायालु स्वर हराउँदा
हरेक भेटघाट र जमघट बिरसिलो भएको मेरो गाउँ
छिमेकी आमा बा लाई बोलाउन पाउने मेरो गाउँ
जेठा,कान्छाको नाताबाट चिनिन सकिने मेरो गाउँ
अस्तिसम्म सुनसान गाउँ आज भरिलो भएको छ
दशैं,तिहारमा आउने बचेरा चैतमै गुँडमा आएको छ
ढोकामा लाएका भोटे ताल्चाहरु निस्फिक्री खुलेका छन्
मुग्लान र शहरबाट आएकाहरु खेत बारि डुलेका छन्
बारिका कान्लाबाटै जेठा बा नमस्ते गुञ्जीएको छ
खेतका आलीबाटै दिदी नमस्ते गुञ्जीएको छ
गोठबाट माहिला सञ्चै आईस भनी सोधीएकोछ
पधेराबाट कान्छी नानी कति पढ्दै छौं भनी सोधीएको छ
भारत र अरबका शहरबाट डाँडाका भाईहरु आएका छन्
महामारीको कारण आफन्तहरुसँग दुरी बढाएका छन्
गाँउका सबै जना सचेत छन् र सचेत बन्न भन्दैछन्
बारिका डिल डिलबाट एक आपसमा दुःख सुख साट्दैछन्
हिजो शहरमा बसी गाँउको नाम नलिने आडम्बरीहरु
संकट पर्दा पश्चाताप गर्दै मुसा बनी गाँउ पस्नेहरु
आज गाँउले सोधीरहेकोछ गाँउको नाम किन बिर्सियौं
गाँउको नाम लिदा लाज लाग्ने कुन बाध्यतामा थियौ
हे गाँउका जनप्रतिनिधिहरु आज तपाईको दक्षता नापिदैछ
महामारीको संकट छ आज तपाईको क्षमता हेरिदैछ
यो समय नाता,गोता होईन मानवता मात्र हेरौ है
भ्रष्टचारको बिषालु नङग्रा कहि कतै नगाडौ है
कोरोना महामारीको समय मानवीय व्यवहार गरौं
धनी,गरिब,उचो ,निचो केही नभनी सहयोग गरौं
हामी आफै सुरक्षित बनौ,सुरक्षित बन्न सबैलाई भनौ
हिमाल,पहाड,तराई कोही छैन पराई नारा लगाऔं
मेरो प्यारो स्वाभिमानी गाउँ स्वाभलम्बी बनाऔं
मानविय व्यवहार,मानवियता र मानवता जोगाऔं
२०७६-१२-२४