एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले आज कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।
“जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु । म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु,” आबेले भने ।
“विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा” नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए ।
यो घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् ।
तर यो युरोप र संयुक्तराज्य अमेरिकाका कतिपय क्षेत्रमा देखा पर्ने लकडाउन जस्तो कडा प्रतिबन्ध होइन ।
जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन् ।
यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन ।
विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए ।
यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए ।
घोषणाबाट टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्र प्रभावित हुनेछन् ।
यो आपतकाल करिब एक महिनाका लागि हुनेछ । संक्रमण बढ्दै गएपछि तत्काल आपतकाल घोषणा गर्न सरकारमाथि चिकित्सा विशेषज्ञहरू सुझाव दिएका थिए ।
आइतबार मात्र टोकियोको शहरी इलाकामा एकै दिन १४३ जनामा कोरोना संक्रमण देखिएको थियो । हुनत यो संख्या विश्वका धेरै भागमा देखिएको संख्याभन्दा कम हो ।
राजधानी टोकियोका चिकित्सकहरूले यस हप्ता शहर पहिले नै “गम्भीर अवस्था” मा रहेको र अस्पतालको क्षमता कम रहेको भन्दै चेतावनी दिएका थिए ।
आपतकालको घोषणाको पक्षमा देखिएका टोकियोका गभर्नर युरिको कोइकेले मंगलबार टोकियो निवासीहरुलाई हिँडडुललाई सीमित गर्न अनुरोध गरेका छन् ।
“यसले दैनिक जीवनमा असुविधा हुन सक्छ, तर म सबैको सहयोगको लागि आह्वान गर्दछु किनकि जीवन खतरामा छ,” उनले भने ।
गभर्नर कोइकेले मंगलबार साँझ पत्रकार सम्मेलन गरी टोकियोमा अबलम्बन गरिने उपायहरुका बारेमा जानकारी गराउने अपेक्षा गरिएको छ ।
सरकारका प्रवक्ता योशिहिडे सुगाले सार्वजनिक यातायातलाई कम नगरिने तर “व्यक्ति–व्यक्ति बीचको सम्पर्क र दूरी घटाउन उचित उपायहरू अपनाउने छौं” भने ।
आपतकाल घोषणाबाट जापानको आर्थिक अवस्थामा पर्ने प्रभावका बारेमा चिन्ता बढेको छ, र प्रधानमन्त्री आबेले सोमबार १० खर्ब डलरको एक प्रोत्साहन प्याकेज घोषणा गरेका छन् ।
यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो ।