वुहान (चीन) । कोरोना भाइरसको विश्वव्यापी महामारीको उद्गमस्थल मध्य चीनको हुपेई प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ ।
जनवरी २३ मा भाइरसको संक्रमण फैलिन नदिन चीन सरकारले वुहान शहर बन्द गरेको थियो । लकडाउन हटेसँगै वुहानबासीहरु पहिलो पटक बुधवार शहर बाहिर निस्कन पाएका छन् । लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पुनः सञ्चालनमा आएका छन् ।
डिसेम्बरको अन्त्यतिर कोरोना भाइरसको संक्रमण शुरु भएयता सोमवार पहिलो पटक चीनमा संक्रमणका कारण मर्नेको संख्या शून्यमा झरेको थियो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए ।
१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार–व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो । एक साताभर कोरोनाभाइरसका नयाँ संक्रमित एकजना पनि नपाइएपछि गत महीना वुहानका शपिङ सेन्टरहरु खोलिएको थियो ।
संक्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई दुई घण्टाका लागि घरबाट बाहिर जान अनुमति दिइएको थियो । स्वीकृति पाएका मानिसहरूले बुधवारबाट सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् । तर यसका लागि उनीहरूले आ–आफ्नो स्वास्थ्य स्थितिसँग सम्बन्धित क्यूआर कोड स्क्यान गर्नु पर्नेछ ।
औषधी आपूर्ति र अन्य दैनिक उपभोग्य काममा संलग्न मानिसहरू आफ्नो काममा फर्किन पाउनेछन् । अन्तरराष्ट्रिय र राष्ट्रिय आपूर्ति सञ्जालसँग जोडिएका र त्यसमा असर पार्ने उद्योगहरू पनि पुनः खुलेका छन् ।
हवाई सेवा सीमित रुपमा सञ्चालन आउनेछन् । राजमार्गमा यातायात साधन आवतजावतमा रोक लगाउन लगाइएका बन्देजहरू पनि हटाइएका छन् । अर्को सूचना नआउँदासम्म भने विद्यालयहरू बन्द गरिएको छ । वुहानमा लकडाउन हटेपनि देशका अन्य क्षेत्रमा भने लकडाउन यथावत् छ ।- एजेन्सी