स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘क्वारेन्टाइन’मा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि प्रत्येक प्रदेशमा पाँच हजारका दरले ‘टेस्ट किट’ पठाएको जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशबाहिरबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको कोरोना परीक्षणका लागि प्रदेशहरुलाई किट उपलब्ध गराइएको बताए ।
हाल विभिन्न स्थानमा सात हजार ९४० जना क्वारेन्टाइनमा रहेको भन्दै डा. देवकोटाले बागलुङ, म्यादी र पर्वतमा पनि ‘र्यापिड टेस्ट’ सुरु भइसकेको बताए ।
यस्तै, कैलाली र कञ्चनपुरबाट आएका ६६ जनाको परीक्षणमा कोरोनाभाइरस नदेखिएको र अरु नमुनाहरु परीक्षण भइरहेकोे उनले जानकारी दिए ।
डडेल्धुरा र बैतडीमामा किट पुगेको, अछाम र जुम्लामा परीक्षण भइरहेको भन्दै उनले ती जिल्लाहरुमा ४०० जनाको नमुना परीक्षण गरिने जानकारी दिए ।
हाल पाटन, विराटनगर र बुटवलमा ‘पीसीआर’को ठूलो मेसिनबाट परीक्षण गराउने तयारी भइरहेकोसमेत उनले जानकारी दिए ।
हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हजार ३८२ जनाको स्वास्थ्य परीक्षण भइसकेको र प्रदेशमा ५१३ जनाको नमुना परीक्षण भइसकेको भन्दै डा. देवकोटाले देशभर १९३ जना ‘आइसोलेसन’मा रहेको र उपचारमा रहेका ८ जनाबाहेक अन्यमा संक्रमण नभेटिएको बताए । इमेजखबरमा समाचार छ ।