विभिन्न उतारचढाबकाबीच आइतबार मध्यरातीबाट २०७६ साल बिदा भएर नयाँ वर्ष २०७७ साल सुरु भएको छ । २०७६ सालमा मुलुकको राजनीतिमा देखिएका केही परिदृष्य अर्थपूर्ण छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो’ सरकार भनेर सम्बोधन गरेपछि उत्पन्न राजनीतिक विवादसंगै सुरु भएको २०७६ साल राजनीतिक विवाद र विश्वव्यापी महामारीको त्राससंगै अन्त्य भएको छ ।
बर्षको मध्यदेखि मुलुकको राजनीतिमा चर्चायोग्य घटना हुन पुगे । जुन सकारात्मक र नकारात्मक दुवै छन् । असोज महिनामा सभामुख कृष्णबहादुर महरालाई यौनजन्य दुव्र्यवहारको आरोप लाग्यो ।
आरोपसंगै सभामुख पदबाट राजीनामा दिनुपर्यो तर १ सय ३३ दिनपछि उहाँले सफाइ पाए । महराको राजीनामापछि सत्तारुढ दलभित्रको लामो रस्साकस्सीबीच नेकपाकै सांसद अग्निसापकोटा सभामुखमा निर्वाचित हुन् । असोज महिनाको अन्तिमतिर चीनका राष्ट्रपति सि चिन फिङले नेपालको भ्रमण गरे ।
२३ वर्षपछि उत्तरी छिमेकी राष्ट्रका राष्ट्र प्रमुखले गरेको २ दिने नेपाल भ्रमण राजनीतिक, मुलुकको आर्थिक समृद्धि र द्धिपक्षीय सम्बन्ध विस्तारमा निकै महत्वपूर्ण रह्यो । यो बर्ष भ्रष्टाचारको विषयले निकै चर्चित रह्यो ।
वाइडबडी, न्यारोवडी खरिद प्रकरण, बालुवाटारस्थित ललित निवास जग्गा प्रकरण र कौडीको भाउमा सरकारी जमिन नीजि कम्पनी गोकर्ण रिसोर्ट यती होल्डिङ कम्पनीलाई लिजमा दिएको विषय विवादित बन्यो । तर सरकारले यसको बचाउ गरिरह्यो ।
एनसेल लाभकर र कोरोना संक्रमण रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा पनि भ्रष्टाचारको शंकाभन्दा बाहिर रहन सकेनन् । यद्यपि एनसेलले वर्षको अन्त्यमा लाभकर चुक्ता गरेको छ । यस्तै, वर्षको अन्त्यतिर भ्रष्टाचार प्रकरणमा मुछिएर तत्कालिन संञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए ।
यो बर्ष अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी) सम्झौता पनि चर्चामा रह्यो । सत्तारुढ दलभित्रकै विवादले सम्झौता संसदबाट पारित हुन सकेन । यही बर्ष प्रधानमन्त्री ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गरे । उनको अधिकांश समय अस्पतालमा बित्यो ।
राजनीतिमा दलहरुबीच एकता हुनेक्रम पनि जारी रह्यो । २ समुहमा विभाजित पूर्वपञ्चहरुको पार्टी राप्रपाबीच एकता भयो भने यसै वर्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकता भयो । यो वर्ष नेपालमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भव्य रुपमा सम्पन्न भयो ।
सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्षको सुरुवात गरेपनि बीचमै स्थगित गर्नुपर्यो । यसै वर्ष सरकारले सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख तोक्यो जुन विवादरहित हुन सकेन । सत्तारुढ नेकपा र प्रतिपक्षी काँग्रेसभित्र पनि आन्तरिक संघर्ष चलिनै रह्यो । वर्षको अन्त्यमा फैलिएको कोरोना संक्रमणको महामारीले सबैलाई चिन्तित बनाएको छ ।
यसैबीच सत्तारुढ दल नेकपाकै शीर्ष नेतृत्वबाट प्रस्तावित कारोना भाइरस नियन्त्रणको लागि उच्चस्तरिय राजनीतिक संयन्त्र गठनको विषयले मुलुकको राजनीति ताकेको छ । यसरी हेर्दा राजनीतिक बहस र विवादकाबीच सुरु भएको २०७६ साल राजनीतिक बिवाद, बहस र महामारीको त्रासकाबीच अन्त्य भएको छ ।
SOURCE: इमेजखबर