‘कोभिड–१९’ को संक्रमण देखिएका काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत् रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार संक्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।
उनले ४८ घन्टामा दुईपटक कोभिड–१९ ‘नेगेटिभ’ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको (डिस्चार्ज) बताए ।
उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर शनिबार घर फर्काइएको हो ।
फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते संक्रमण देखिएपछि अस्पताल भर्न गरी ‘आइसोलेसन’मा उपचार हुँदै आएको थियो ।
यसअघि, चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि संक्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।
अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ ।
नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा संक्रमण देखिएको थियो । रासस