उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।
त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको हो ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएका नमूनालाई थप परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोशी अस्पताल विराटनगर पठाइएको थियो । उनीहरु मध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ४ जना निको भइसकेका छन् । इमेजखबरमा समाचार छ ।