सन्तोषजङ्ग मल्ल
संसार यतिबेला कोरोनाका कारण आक्रान्त छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण केही मुलुकमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन् । दैनिकीसमेत कष्टकर बन्दै गएको छ । नेपालमा लकडाउनले घरभित्र बसेका परिवार समेत विदेशमा रहेका आफन्तको बारेमा चिन्तित छन् ।
उता पछिल्लो दिनमा विदेशमा रहेका ७० प्रतिशतभन्दा बढी नेपालीले स्वदेश फर्किने खोजेको भनेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफवाह फैलाउने गरेको छ । एनआरएनए समुहले सञ्चालन गरेको हेल्पलाइनमा फोन गर्नेमध्येका ७० प्रतिशतले नेपाल फर्किन चाहेको भनेर अफवाह फैलाउँदा विश्वभर बसिरहेका नेपालीहरु आश्चर्य पर्नुका साथै झनै त्रसित भएका छन् । ७० प्रतिशत भनेको ठुलो संख्या हो । कुन आधारमा त्यतिका धेरै नेपाल फर्कन चाहेका छन् भन्ने यो समूहले आधिकारीक आँकडा नदिनुका साथै कयौं झुट भ्रामक सूचना दिँदा नेपालमा बस्ने परिवारलाई समेत चिन्तित बनाएको छ ।
एनआरएनए समूहले भने जस्तो कुनै पनि देशबाट ठुलो संख्यामा नेपाली फर्किन चाहेको भन्ने होइेन । अहिलेको अवस्थामा नेपाल गएपनि जोखिम नै छ । युरोप, अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया, खाडी लगायतका देशमा रहेका नेपालीहरु त्रासमा छन् । केहीले अवस्था भयानक भन्दै फर्कन खोजेका छन्, तर अनुमानित १० प्रतिशत बाहेक अरु नेपालीको नेपाल नै फर्कने नै गरी सामान्यता कुनै समस्या देखिएको छैन । जापान, युके, अष्ट्रेलियाका केही विद्यार्थीहरुले आफ्नो घरभाडा लगायत अन्य अत्यावश्यक राहत दिन माग गरेका देखिन्छन् । उनीहरु नेपाल फर्कने पक्षमा होईनन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसका कारण अत्यन्तै समस्या परेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा पर्यटकले आफ्नो देश फर्कन सक्ने बताएका थिए । जसमा आफ्नो देश फर्किएको खण्डमा आफूले चाहेको सहयोग पाउने पनि बताएका थिए । तर पनि फर्किन चाहेका सानो संख्या अनुमानित ४०, ५० जना बाहेक अष्ट्रेलियामा रहेका अन्य विधार्थीले नेपाल फर्कन नभई राहत, सहयोग मागेका देखिन्छन् ।
यस्तै भारत बाहेक खाडी मुलुकहरुमा कोरोना भाइरसको प्रभाव तिव्र बन्दै त्रास छाएको छ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई वेवास्ता गर्ने केही नेपाली कामदारलाई कतारले देश निकाला गरेको थियो । जसको एम्नेस्टी इन्टरनेशनलले ध्यानाकर्षण भएको जनाएको छ । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टिन र सामूहिक क्वारेन्टिनमा राखेको छ । कामदार क्वारेन्टिनबाट सिधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन खाडी मुलुकहरुले प्रवेश रोक लगाएका छन् ।
खाडीमा केही रोजगार कम्पनीले नेपाली श्रमिकहरुलाई तलब, काम, बस्न नदिने धम्की दिने गरेका समाचार आएता पनि त्यो भन्दा बढी भारतीय, पाकिस्तानी, बाङ्लादेशका नागरिकको अवस्था झन् गम्भीर देखिन्छ तर पनि ति देशहरुले आफ्ना नियोग मार्फत राहत लगायतका सहयोग पुराएका छन् । यथार्थमा खाडीका समस्यामा परेका नेपालीहरु पनि अत्यावश्यक राहत सहयोग माग गरेका छन् । तर नेपाल सरकारले त्यो गरेको देखिदैन । त्यो माथि त्यहाँका करौडौं रुपैयाँ चन्दा संकलन गरेर बसेका एनआरएनए समुहले अहिलेसम्म राहत दिनको कुरा त परको कुरा हो, उल्टै नेपालमा स्वास्थ्य सामग्री पठाउन भनी पैसा सहयोग माग्दै हिंडेका छन् ।
अर्को कुरा गैरआवासीय नेपाली सूहले आपतकालिन राहत कोषमा चैत्र १७ सम्म २ करोड आर्थिक संकलन गरेको बताएको थियो, अहिले पनि निरन्तर चन्दा उठाएकै छ । एनआरएनए समूहका नाममा अमेरिका देखि खाडीसम्म विश्वभर लुकी–छिपी कति पैसा उठाएका छन् त्यो हिसाब नै छैन् ।
अमेरिका देखि खाडीसम्म बस्ने नेपालीले सामाजिक सञ्जालमा होस् कि नेपालली टीभी च्यानलहरुमा होस् केही नेपालीले भयानक भनेर अफवाह फैलाएका छन् । तर अवस्था उनीहरुले भने भन्दा फरक छ । विश्व समूदाय यतिबेला कोरोनासँग लडिरहेको बेला कोही पनि आप्रवासीहरुलाई भेदभाव परेको भन्ने देखिँदैन। सबै देशका कोरोना संक्रमित भएका नेपालीहरुलाई सबै सुविधासहित आइसोलेसनमा उपचार भइरहेको देखिन्छ । खाडी, अमेरिका लगायतका देशबाट केही नेपालीहरुले सामान्य ज्वरो, रुघा–खोकी लाग्दा पनि कोरोनाका नै लक्षण हुन् कि भनेर त्रसित हुनुका साथै नेपालका टीभीमा लाइभ दिन्छन्। उनीहरुले त्यहाँको नजिक स्वास्थ्य चौकी, अस्पातल, सम्बन्धित निकायलाई जानकारी गराउन चाहदैनन् ।
अर्को तर्फ पछिल्लो समय लगभग सबै देशहरुले कोरोना स्वास्थ्य जाँच वेबसाइट, एप्स निर्माण गरेका छन् । त्यहाँबाट पनि आप्रवासीले आफ्नो स्वास्थ्य विवरण पठाउन सक्छन् । सोको आधारमा कोरोनाको संक्रमण लक्षण मिले तुरुन्त स्थानीय स्वास्थ्यकर्मी आएर लैजाने गरेको देखिन्छ । विश्वमा कोरोना विरुद्दको लडाईं आप्रवासीलाई कहीँ कतै भेदभाव गरेको देखिदैन । नेपाली रहेका सबै देशमा कर्फ्यू, लकडाउन गरिएको छ । यो भनेकै आफू जहाँ छौँ त्यहाँ सुरक्षित भएर बस्ने हो । र ति देशहरुमा रहेका नेपाली राजदूतावासले आफ्ना नागरिकको दैनिक अवस्था बुझ्नु पर्छ, सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गर्ने र सक्दो राहतको लागि पहल गर्न सक्न्नुपर्छ ।
आफ्ना नागरिकको स्वास्थ्य समस्या परेमा राजदूतावासले सम्बन्धित देशको स्थानीय सरकारलाई अबगत, जानकारी गराई स्वास्थ्य जाँच गराइदिन पहल गर्न सक्न्नुपर्छ । सरकारी निकायको पहल प्रभावकारी र सबैलाई समट्ने हुन्छ । त्यो भन्दा पनि विदेशमा रहेका नेपाली नियोगलाई ओझेलमा पारेको र नेपालीबासीले भगवान जस्तै पुज्दै आएको एनआरएनए समूहबाट राहत, सहयोग, मद्दत न पहिले पाएका थिए, न त अहिले पाएका छन् । यथार्थमा कोठा भित्र बसेर यो–त्यो देशको एनआरएनए अध्यक्ष, सदस्य हुँ भनी चन्दा उठाउने, अफवाह फैलाउने समूहले १,२ जनालाई सहयोग गरेजस्तो गरेर मिडियाबाजी गरेका मात्र छन्, यी समुहले कहिले पनि नेपालीलाई सहयोग गरेका छैनन् र गर्ने पनि छैनन् ।
अचम्मको कुरा त एनआरएनएले संसार नै चलाएर बसेको जस्तो भ्रममा परेका हाम्रा परराष्ट्रमन्त्रीले उक्त समूहको व्यापारी अध्यक्षलाई विश्वभरका नेपालीको अवस्था बुझ्ने र सहयोग मागेको देख्दा नेपालको परराष्ट्र नीति कस्तो छ भन्ने प्रष्ट हुन्छ । आफ्नो देशमा केही गर्न नसकेर विदेशमा कमाउनका लागि बसेका र केही व्यवसाय गरेर फेरि नेपालमा लगानी गर्ने भन्दै लुट्ने समूहले बनेको यो एनआरएनएसँग सहयोग माग्नु, विदेशमा रहेका नेपालीको अवस्था बुझ्नु भनेको साह्रै दयनीय अवस्था हो । विश्वमा सबै देशले आफ्ना राजदूतावास मार्फत नागरिकको अवस्था बुझ्ने, सहयोग– राहत पुराउने गर्छन् । तर सरकारले आफ्ना राजदूतावाससँग यो गरेको देखिँदैन ।
नेपाली राजदूतावासले आफ्ना नागरिकको अवस्था, विवरण जानकारी लिएर राख्नुपर्छ, बुझ्नुपर्छ । तर एनआरएनए समूहको आवश्यकता नै छैन र राजदूतावासबाट यस्ता समूहको नाममा कुनै गतिविधी गर्न दिनु हुँदैन । यथार्थमा एनआरएनएका गतिविधीका कारण नेपालका विदेश स्थित नियोगहरुका काम, कार्य ओझेलमा परेका छन् । फेरि पनि भन्दा नेपालका विदेश स्थित सबै दूतावास एनआरएनए समूहको ओझेलमा पर्दै आएका छन् । जस्तो कि सरकारदेखि नेपाली मिडियाहरुले कुनै देशको घटना, समाचार लेख्न परे एनआरएनएलाई आधार बनाएर लेख्छन् । अधिकारिक निकाय दूतावास हुँदा–हुँदै एनआरएनए समूहलाई आधार बनाएर लेख्नु कति विश्वासिलो हुन्छ ?
एनआरएनए समूहले विपत्तीको बेलामा जहिले पनि ‘चाहे त्यो भूकम्पको बेला होस् वा ‘कोरोना लकडाउनको समय’ अहिले नेपाल सरकारलाई १ अर्बको अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने भनी भ्रम छर्दै हिँडेका छन् । यथार्थमा एनआरएनए समूहले नेपाललाई १ करोडका सामाग्री सहयोग गर्नु भनेको १ अर्ब लुट्नलाई हो । यिनिहरुले सहयोगको नाटकमा आफ्नो व्यापार, ठेक्का– पट्टा नेपालमा विस्तार गर्न खोजेका हुन् ।
नेपाल सरकारको राहत कोष, विश्वभर रहेका नेपाली राजदूतावास मार्फत चाहेको नेपालीले सहयोग गर्न सक्ने अवस्था हुँदा–हुँदै यो एनआरएनए समूहले संसारभर विभिन्न पेसा गरेर बसेका नेपालीलाई कोरोना आपतकालिन राहत कोषका नाममा घर– घर गएर हैरान परेका छन् । सबै खालका व्यवसाय गरेर बसेका नेपाली व्यवसायीहरुलाई यो समूहले गैरआवासीय नेपाली संघको नाममा ठुलो रकम वर्षौ देखि असुल्दै आएका छन् ।
यस्तै पछिल्लो समय कोरियाबाट नेपालीहरुले आर्थिक संकलन गरी किनेर पठाएका ४ हजार थान कोरोना परीक्षण किट लगायतका स्वास्थ्य सामग्री अन्त्यमा आएर एनआरएनए कोरियाले सहयोग गरेको भनेर भ्रम फैलाउदै हिंडे । वास्तवमा त्यहाँ रहेका नेपालीहरुले एक आपसमा मिलेर पठाएका थिए । एनआरएनए कोरिया समूहले चलाखी गरेर ‘कोरियाका नेपाली’ भन्नु पर्नेमा एनआरएनए कोरियाले सहयोग गरेको भनेर आफूहरुले क्रेडिट पाए ।
कोरियाको मात्र होइेन, सरकारले चीनबाट ल्याउन खोजेको विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरणपछि एनआरएनए समूहका व्यक्तिहरुले निशुल्क करोडौंका सामग्री दिन्छौँ भन्दै अफवाह नफैलाएका होइनन् । यिनी एनआरएनए समुहले नेपालको भलो हुने काम कहिले गरेका पनि छैनन् र गर्ने पनि छैनन् । तसर्थ अफवाह फैलाउने गैरआवासीय नेपाली संघ एनआरएनएको औचित्य सकिएको छ । विश्वभर एनआरएनए भन्ने आए कसैलाई सहयोग गर्नुहुँदैन । एनआरएनएका कुनै पनि कार्यक्रम, गतिविधीमा लाग्न हुँदैन, आर्थिक सहयोग गर्नुहुदैन । सामान्य विदेसिएका नेपालीलाई समावेश गराई एनआरएनएको बिल्ला झुन्डाएर नेपाललाई लुट्ने समूहलाई अहिलेदेखि पूर्ण रुपमा बन्देज लगाउनु पर्छ । विश्वभरका नेपालीले आफ्नो नेपाली दूतावासले आयोजना गरेका कार्यक्रम, गतिविधीमा सहभागीता र सहयोग गर्नुपर्छ । त्यो माथि एनआरएनएको नाममा नेपालका राजनीतिक दलहरुले कमाउने, लुट्ने गतिविधी गरेका छन् । अहिले एनआरएनएको लुटेरा समूहमा राजनीतिक दलहरु समावेश छन् ।
यस कारण एनआरएनए बन्द होस्
कोरोना भाइरस र लकडाउनको अवस्थामा पुनः गैरआवासीय नेपाली संघ (एनआरएनए) को बारेमा यथार्थ बुझौँ । एनआरएनएको बारेमा पछिल्ला वर्षमा ठुलै चर्चा हुँदै आएको छ । एनआरएनए भनेपछि नेपाली समाजमा संसार नै चलाएर बसेको ठुलो संस्था जस्तो भ्रम परेको देखिन्छ । हुन पनि डलर, युरो, पाउण्ड, जापानी येन कमाउने देशमा बस्ने नेपालीको संस्था एनआरएनए भनेपछि सानोतिनो भनेर सोच्ने कुरै भएन ।
एनआरएनएको व्याख्या गर्नु अगाडि खाडी बाहेकका नेपाली बस्ने युरोप, अमेरिका, जापान लगायतका धनी सम्पन्न देशका कुरा गरौँ । नेपालमा राजनीतिक परिवर्तनसँगै पछिल्लो वर्षमा विदेशिने नेपालीको संख्या दिन प्रतिदिन बढेको छ । दक्षिण कोरिया, मलेसिया, खाडी लगायतका मुलुकहरुमा वैदशिक रोजगारीको सिलसिलामा आएका नेपालीहरुले दुःख, अपहेलना पाएका घटना त छँदैछ त्यो भन्दा ठुलो अपहेलना, अपमान युरोप, अमेरिका, अष्ट्रेलिया, जापान जस्ता विकसित भन्ने देशहरुमा नेपालीहरु माथि हुँदै आएको छ । विकसित भन्ने देशहरुका नागरिकहरुले नेपालीहरुलाई सामाजिक रुपमा अपमान, बहिस्कार गरेका छन् । पछिल्लो १२, १५ वर्ष यता विश्वभर आप्रवासीहरुलाई हेर्ने नजर बदलिएको छ । पहिला– पहिला नेपाल, नेपाली भनेपछि ति देशका नागरिकले धेरै जिज्ञासा राख्थे, भेट्दा खुशी हुन्थे तर अहिले त्यस्तो छैन । त्यो अमेरिका होस् या युरोप ।
अमेरिका, युरोपका नागरिकहरुले आप्रवासीहरुलाई कुनै तहबाट पनि मन पराउँदैनन् । चाहे त्यो कुनै कार्यालयमा कागजात बनाउन जाँदा होस्, सोपिङ महल, व्यापार, जागिर गर्ने सिलसिलामा होस् आप्रवासीहरुले मानसिक रुपमा त्यहाँका नागरिकका अगाडि अपमान सहेर बस्न वाध्य छन् । ति देशका नागरिकमा गरिब देशबाट आएर हाम्रो देशमा आएर ठुलो हुन्छस्, हाम्रो रोजीरोटी, व्यवसाय, सुविधा खोसेर बसेको त छस्, होस् भन्ने जस्ता नकरात्मक सोच पलाएको देखिन्छ । त्यो अपमान ति देशमा बस्ने सबै नेपालीहरुले महसुस गरेका छन् । नेपालमा भन्दा सम्मान, सुरक्षा, कामको इज्जत हुन्छ भनी ठुला–ठुला कुरा गफ दिने नेपालीहरु चाहे त्यो करौडौं, अर्बाैं डलरको व्यवसाय, ग्रोसरी सप, रेस्टुरेन्ट व्यवसाय, पीएडी–प्रोफेसर, पत्रकार, कलाकारहरु किन नहोस् ति देशको समाज वा नागरिकको अगाडि तुच्छ, अपमानित भएर बसेका छन् । उनीहरुलाई ति देशको कानुनले बस्न तथा काम गर्ने अनुमती, व्यवसाय–लगानी गर्ने, घर– सम्पत्ति किन्ने जस्ता पक्षमा बराबर अधिकार दिएपनि त्यहाँका समाज, नागरिकको नजरमा तुच्छ, अलग, अपमानित भएर बसेका नै छन् ।
यथार्थमा भन्दा सामाजिक रुपमा अपमानित भएर युरोप अमेरिकामा रेस्टुरेन्ट व्यवसाय गर्नेको भन्दा नेपालमा ठेला व्यवसाय गर्नेको ईज्जत छ । पीएचडी–प्रोफेसरको जागिर गर्ने भन्दा नेपालमा प्रावी विद्यालयका शिक्षकको ईज्जत छ । डीभी परेर गएका बिचराहरुको भन्दा खोलामा गिट्टी, बालुवामा काम गर्नेको ईज्जत छ । यसको मतलब अरुको देशमा गएर त्यहाँका नागरिकका नजरमा अपमानित भएर बस्नु भन्दा आफ्नै देशमा ठेला व्यवसाय, प्रावी विद्यालयका शिक्षक, गिट्टी, बालुवामा काम गर्न ठीक हुन्छ ।
टेक्नोलोजीको शताब्दीमा विश्वका विकसित भन्ने मुलुकका नागरिकहरु आफ्नै देशमा आत्मनिर्वर भएर बसेका बेला नेपालीहरु भने ति देशमा डीभी परेर, रोजगारी, घुम्न–पढन् भन्दै उतै लुकेर बस्ने, नागरिता नै त्याग गरी बस्ने ईत्यादी गरेको देखिन्छ । हामी नेपालीलाई सबै जिन्दगी, पैसा, दुनियाँ ति स्वर्ग भनिने देशमा छ भन्नेगलत सोचाई छ । जिन्दगीको विकल्प भनेको विदेश नै हो भन्ने वातारण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बनाइदिएको छ । एनआरएनए जस्ता संघ– संगठन हुनु भनेको नेपाल सदा विदेशीको भरमा चल्नु हो । नेपाल, नेपालीलाई आत्मनिर्भर हुन नदिनु हो । नेपालीलाई आत्मनिर्भर बनाउने, आफ्नै देशमा रोजगारको वातावरण बनाउने हो भने वैदेशिक रोजगार विभाग र एनआरएनएलाई तुरुन्त खारेज गर्नुपर्छ ।
वैदेशिक रोजगार विभाग राखेर सरकारले आफ्नै जनता बेच्ने काम गरेको, आफ्नै युवा शक्ति, श्रमलाई बाहिर बेचेको छ । त्यो माथि एनआरएनएको नाममा खाडी, युरोप अमेरिकामा दुःख पाएर श्रम गरेका, सानोतिनो व्यवसाय गरेर बसेका नेपालीबाट चन्दा उठाई लुट्ने काम गरिरहेका छन् । यो नेपालीलाई लुट्न बनाएको एनआरएनएले कहिले पनि नेपालको हितमा काम गर्दैनन् । एनआरएनए, वैदेशिक रोजगार विभाग बन्द नहुन्झेल नेपाली र नेपालको अवस्था गरिब रहन्छ । अबको विकास भनेको एनआरएनए, वैदेशिक रोजगार विभाग बन्द गरी विदेशमा बसेका नेपालीलाई स्वदेशमा फिर्ता गर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरी स्वदेशमा रोजगारीको व्यवस्था गर्ने हो ।
२ दशक अगाडि भारत बाहेक वैदेशिक रोजगार, युरोप अमेरिका जानेको संख्या कम थियो । त्यो बेला नेपालमा कृषि, खाद्यान्न, फलफुल लगायतका अतिवाश्यक सामानको आयत कम थियो। जनघनत्व उस्तै थियो । गाउँका जग्गा बाँझो थिएनन् । एक परिवारले वर्षभरीको उत्पादन आफैँ गर्ने गर्थे । विदेशमा बसेका नेपालीलाई स्वदेशमा फिर्ता गरेर गाउँका उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्न सकिन्छ । हामी नेपालीललाई आफ्नै जामिनमा सदुपयोग गरी खान, बस्न लागि पुगेता पनि विरामी पर्दा उपचारको लागि पैसा खर्च अवस्था छैन । तसर्थ सरकारले सम्पूर्ण नेपालीको शत प्रतिशत स्वास्थ्यको जिम्मा ल्याउनु पर्छ । मात्र हामी नेपालीलाई सम्पूर्ण निःशुल्क स्वास्थ्य उपचार सेवा होस् । नेपालीलाई खाडीमा जान वाध्य परेको प्रमुख एक कारण निःशुल्क स्वास्थ्य सेवा नहुनु हो । सम्पूर्ण उपचार निःशुल्क भएमा आफ्नै गाउँ– ठाउँमा बसेर उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्न सक्न्नुका साथै वर्षभरीको लागि आफैँ उत्पादन गरेमा बाहिरी देशमा निर्भर हुनुपर्ने छैन ।
अचम्मको कुरा त के भने गैर आवासीय भारतीय (एनआरआई) को देखासिको गरी सन् २००३ मा स्थापना गरेको एनआरएनएले कृषि, पर्यटन, स्वास्थ्य, पूर्वाधार र जलविद्युत क्षेत्रमा अहिलेसम्म जती गफ दिएपनि केही गरेको छैन । एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो, भवन भट्ट, शेष घले वा बर्तमान अध्यक्ष कुमार पन्त हुन् कि चाहे कुनै पनि देशको एनआरएनए अध्यक्ष, सदस्य होस् सबै नेपाल कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र जलविद्युत क्षेत्र लगानी वा व्यापारको नाममा लुटन् गतिविधी मात्र गरेका छन् । एनआरएनए लगानीको नाममा नेपालमा पस्नु भनेको नेपाललाई लुटन् हो । काठमाडौंमा गत वर्ष सम्पन्न सम्मेलनमा रात्रीभोजदेखि अन्य खर्चसम्म नेपाल सरकारसँग चन्दा मागेका थिए । देशलाई केही दिने भनेर स्थापित संस्था नेपाली जनताको करबाट उठेको रकम नेपाल सरकारसँग मागेर भोज खाएका थिए । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा बनेको एनआरएनए भवन तुरुन्त बन्द गर्नुपर्छ । विश्वभर रहेका एनआरएनए समुह र गतिविधी बन्द गर्नुपर्छ । यदी संघ–संस्था चाहिएमा नेपाली नागरिता त्यागेकाले पूर्व नेपाली नागरिक संघ राख्दा हुन्छ । नेपालको नाम बेचेर लुट्न र गतिविधी गर्न पाईंदैन ।
नेपाली नागरिता (आमा) त्याग्नेले दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोज्नु भनेको ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइ राख्नुपर्ने चुनौती थपिएको हो । नेपाली मूलका विदेशीलाई सबै क्षेत्रमा कडाई गर्नुपर्छ । उनीहरुलाई अन्य विदेशी पर्यटकलाई भन्दा प्रवेशाज्ञा (भिसा) शुल्क बढी लिनुपर्छ । उनीहरु स्वार्थी हुन् । नेपाल र नेपालीको लागि कहिलै भलो चिताउँदैनन् । नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता स्वतः लोप हुने भनेता पनि अहिलेसम्म ९९ प्रतिशत ति पूर्व नेपालीले अहिलेसम्म नेपाली नागरिकता त्यागेका छैनन् । यसलाई पनि सरकारले कडाई गर्नुपर्छ ।
अझ अचम्म त के भने अर्काको देशमा गएर बस्दा लाज त हुनुपर्ने त्यो माथि कांग्रेसको जनसम्पर्क समिती, नेकपा समिती गरेर राजनीनिक गरेको देखिन्छ । अर्काको देशमा लुकिछिपी राजनीतिक समिती बनाउने, गराउनेलाई बन्देज लगाउनु पर्छ । अर्काको देश जहाँ अपमान हुन्छ त्यहाँ गएर बस्ने अनी राजनीतिक गर्नु भन्दा नेपाल फर्केर समिती, संघ– संस्था बनाउँदा हुन्छ ।
अब युरोप, अमेरिका विदेश बस्छु भन्ने नेपालीहरु तल्लो दर्जाका हुन् भन्ने मान्यता स्थापित गर्नुपर्छ । तर हामी नेपालीहरु काम गर्न होइन्, विदेश घुमेर आएको भन्ने बातावरण निर्माण गर्नुपर्छ । अब विदेशमा होइन आफ्नै देशमा बस्नु पर्छ, व्यवसाय, कृषि, काम मिहिनेत आफ्नै देशमा गर्नुपर्छ । यो वातावरण बनाउनको लागि पनि एनआरएनए बन्द गर्नुपर्छ ।
अहिले नेपालमा ४० लाख बढी गैर आवासीय भारतीय नागरिकहरु बस्छन् । जुन विश्वका अन्य देशमा तुलनामा सबैभन्दा बढी भारतीय रहेको नेपालमा हो । नेपालमा बस्ने लगभग ९५ प्रतिशत काम, व्यवसाय गर्ने गैर आवासीय भारतीय नागरिकहरुले कुनै आयकर, भ्याट नतिरेको तथ्याङ छ । जसलाई सरकारले कानुनी दायरामा ल्याउनै पर्छ । अहिले करिब ८० लाख नेपाली बाहिर छन् । सबैभन्दा बढी खाडी र मलेसियामा होलान् । खाडीमा २०–२५ लाख होलान् । मलेसियामा पनि ५–६ लाख होलान् । अमेरिकामा साढे चारदेखि ५ लाख होलान् । पूरै युरोपमा करिब ५ लाख होलान् । युकेमा मात्रै डेढ लाखभन्दा बढी नेपाली छन् । त्यसपछि जर्मनी, पोर्चुगल, बेल्जियमलगायत मुलुकमा नेपाली धेरै छन् । अष्ट्रेलियामा दुई लाख नेपाली पुगिसकेका छन् । अफ्रिकामा केही हजारको संख्यामा मात्र नेपाली छन् । त्यहाँ नेपालीहरू ५–७ वर्ष मात्र बस्ने गरेका छन् । युरोप–अमेरिका जाने उतै बस्न खोज्छन् ।
समग्रमा विश्वमा भारत जस्ता केही थोरै देश बाहेक वैदेशिक रोजगार मन्त्रालय नै खोलेर विदेशमा श्रम बेच्ने काम नेपालले गर्दै आएको छ । वैदेशिक रोजगार विभाग खोलेर आफ्नै जनता बेच्ने काम नेपाल सरकारले तुरुन्त बन्द गर्नुपर्छ । अब एनआरएनए, वैदेशिक रोजगार विभाग तुरुन्त बन्द गरी नेपालले विश्वका धनी भन्ने मुलुकसँग विदेशनीति बलियो गराउनु पर्छ । ल्याटिन अमेरिकाका कयौं देशले पछिल्लो समय आफ्ना नागरिकहरुलाई व्यवसाय, आवतजावातको लागि युरोप लगायतका धनी देशमा ३ महिनाको लागि भिसा (प्रवेशाज्ञा) नीतिमा परिवर्तनको लागि पहल गरेको देखिन्छ । जसले गर्दा अहिले ति देशका नागरिक युरोपका शेन्जेन देश लगायत विश्वका कयौ देशमा ३ महिनाका लागि बिना भिसा भ्रमण गर्न पाएका छन् । तसर्थ नेपालले अब तुरुन्त विश्वभर कम्तिमा पनि ३ महिनाका लागि बिना भिसा नेपाली नागरिकका लागि आवतजावत गर्न सक्ने गरी अन्तर्राष्ट्रिय रुपमा सबै देशसँग एक–एक गरी पहल गर्नुपर्छ । यदी कुनै पनि देशले सकारात्मक हुँदैन भने ति देशमा नेपाल प्रवेशमा कडाई गर्नुपर्छ, चाहे त्यो सगरमाथा, गौतम बुद्ध लुम्बिनी घुम्न आउने किन नहोस् । यदी नेपालले प्रवेशाज्ञा लगायत विदेश नीतिमा कडाई गरे ति देश पनि क्रमशः नेपालको विदेश नीतिमा सकारात्मक हुनुका साथै नेपाललाई हेर्ने नजरमा परिवर्तन हुनेछ ।
नेपालमा आउने ९० प्रतिशत पर्यटक आर्थिक रुपमा कमजोर भएका देखिन्छन् । नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्वजनिक भएको छ । कम खर्चमै घुमघाम गर्न सकिने भएकोले टिकट सहित उनीहरु २,३ हजार डलरमा नेपाल घुम्ने गरेका छन् । तसर्थ नेपालले पनि आर्थिक रुपमा सक्षम भएको विदेशीलाई भिसा (प्रवेशाज्ञा) दिने लगायतमा कडाई गरेमा धनी पर्यटक आउने र अध्यागमनको कडाई नीतिले विश्वमा नेपाललाई हेर्ने नजरमा केही परिवर्तन आउन सक्छ ।