गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा सव डिभिजन वन कार्यालय अर्घाखाँचीले वन जंगलको संरक्षणको लागि संयुक्त गस्ती सुरु गरेको छ । लकडाउनकाे समयमा वन क्षेत्रमा हुन सक्ने संभावित चाेरी सिकारी नियन्त्रणका लागि शितगंगा – ११ सिद्धारामा संयुक्त गस्ती टोली परिचालन हुने भएको छ ।
शितगंगा सव डिभिजन वन कार्यालय र वडा नं. ११ सिद्धारा स्थित प्रगतिशिल सामुदायिक वन तथा घाैवा महिला सामुदायिक वनको संयुक्त गस्ती टाेली परिचालन भएकाे छ । अब बिना अनुमती विना वन जंगलमा प्रवेश गर्न समेत रोक लगाएको छ । अनुमति बिना वन प्रवेश गरेको भेटिएमा गस्ती टोलीले नियन्त्रणमा लिएर कानून बमोजिम कार्वाही गर्ने भएको हो । बन जंगलमा अबैध चोरी बढेपछि शितगंगा सव डिभिजन बन कार्यालयले सामुदायिक वनसँगको समन्वयनमा संयुक्त रुपमा गस्ती सुरु गरेको हो ।
अनाधिकृत रूपमा वन प्रवेश गर्ने जाे काेही पनि कार्वाहिकाे भागिदार हुने सव डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख यादव सापकोटाले बताउनु भयो । यस गस्तीले बनमा चोरी नियन्त्रण गर्न र बनको संरक्षणको लागि बन प्रवेशमा रोक लगाईएको उहाँले बताउनु भयो । साथै सरकारले घोषणा गरेको लकडाउनकाे घरमै बसेर पूर्ण पालना गर्न सबैलाई अपिल गर्नु भएको छ ।